२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

लुम्बिनी विकास कोषका सदस्य-सचिवलाई प्रधानमन्त्री निर्देशन- धर्मको हेक्का राखी काम गर्नू
फाइल तस्बिर

 


सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ ।



मन्त्रिपरिषद्ले ३६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनित गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्कीले भने, ‘तपाईँलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो ९लुम्बिनी० धार्मिक संस्था हो, धर्मको हेक्का राखेर काम गर्नुहोला । तपाईँको अहिलेको कामले भविष्यमा तपाईँका सन्ततिले पनि शिर ठाडो पारेर हिँड्न सकून् । गौरव गर्न सकून् ।’ 
 
सदस्य–सचिव श्रेष्ठले पनि उक्त संस्था र पदको गरिमामा आँच आउन नदिनेगरी इमानदारीसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गोरखाको सहिद लखन गाउँपालिका–६ का श्रेष्ठले इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनमा १७ वर्षको अनुभव सँगालेका छन् । 
 
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरे । केही समय नागरिक उड्डयन प्राधिकरणमा काम गरेपछि श्रेष्ठ २०६७ बाट नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए । स्थानका बनेपा र धरानका शाखा प्रमुख सम्हालेपछि उनी २०७० मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा खटिएका थिए । 
 
अख्तियारमा उनले आठ वर्ष भ्रष्टाचारसम्बन्धी अनुसन्धानको काम गरेका थिए । उनलाई खानेपानी संस्थान र अख्तियार गरी दुवै संस्थाले उत्कृष्ट कार्यसम्पादनका लागि पुरस्कृत पनि गरेका थिए ।



इमानदारीसाथ राम्रो अनुसन्धान गरेकै कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफूलाई २०७६ मा उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कार दिएको र संस्थानले पनि विभिन्न समयमा पुरस्कृत गरेको श्रेष्ठले बताए । 

अख्तियारमा रहेकै बखत बढुवा भएपछि श्रेष्ठ २०७८ मा खानेपानी संस्थानमै फर्किए । पछिल्लो समय उनले संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुख भएर काम गरिरहेका थिए । 

हामी केवल जागिर मात्र खाने होइन, जहाँ पुगे पनि जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नुपर्छ,’ उनले भने । 



  • प्रकाशित मिति : १६ मंसिर, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया