नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा लिग चरणको २१ खेलको नतिजा आइसकेको छ । लिग चरणमा अब सात म्याच मात्र खेल्न बाँकी छ ।
ताजा स्थितिमा सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ । ऊ पाँच म्याच खेल्दासम्म अपराजित छ ।
सुदूरपश्चिम गत संस्करणको उपविजेता टोली हो । र, उसले एनपिएल २०२४ कै लय दोहोर्याइरहेको छ ।

सुदूरपश्चिमले यसपटक पनि क्वालिफायर वान खेल्नेछ । क्वालिफायर वान खेल्ने टिमलाई फाइनल पुग्ने दुईवटा मौका मिल्छ ।
यस्तै, दोस्रो संस्करणको एनपिएलमा काठमाण्डु गोर्खाज पनि राम्रो प्रदर्शन गरिरहेको छ । तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डुले ६ म्याच खेल्दा चारमा जित र दुई खेलमा हार बेहोरेको छ ।

अब एउटा खेल जितेमा उसले प्लेअफमा स्थान बनाउने छ । काठमाण्डु गत सिजनमा नेट रन रेट कमजोर हुँदा प्लेअफमा स्थान बनाउन चुकेको थियो ।
गत संस्करणको एनपिएलको प्लेअफमा पुग्न असफल विराटनगर किंग्सले पनि यसपालि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले पाँच म्याच खेल्दा चारमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।
पाँच खेलबाट ८ अंक जोडिसकेको विराटनगरले अब एउटा खेल जिते प्लेअफमा ढुक्कका साथ स्थान बनाउने छ । उसले छैटौँ खेलमा बुधबार लुम्बिनी लायन्ससँग खेल्ने तालिका छ ।

अहिलेको अवस्थामा अंक तालिकाको चौथो नम्बरमा पोखरा एभेन्जर्स छ । पाँच म्याच खेलिसकेको पोखराले तीनमा हार तथा दुई खेलमा जित निकालेको छ । प्लेअफमा स्थान बनाउन उसले अब बाँकी दुई म्याचमा राम्रो नेट रनरेटका साथ जित निकाल्नु पर्छ ।
तालिकाको पाँचौं स्थानमा रहेको चितवन राइनोजको प्लेअफ सम्भावना पनि अहिलेसम्म जीवित छ । त्यसका लागि उसले बाँकी दुई खेलमा उत्कृष्ट जित निकाल्नुपर्ने समीकरण बनेको छ ।
चितवनले पाँच म्याच खेल्दासम्म तीनमा हार तथा दुई म्याचमा जित निकालेको छ ।

अंक तालिकाको छैटौँ स्थानमा रहेको लुम्बिनी लायन्सले पनि तीनमा हार तथा दुई खेलमा जित दर्ता गरेको छ । यदि प्लेअफमा स्थान बनाउन छ भने उसले पनि बाँकी दुई खेलमा उत्कृष्ट नेट रन रेटका साथ जित निकाल्नुको विकल्प छैन ।
अंक तालिकाको सातौं स्थानमा रहेको कर्णाली याक्सको प्लेअफ यात्रा भने समाप्त भएको छ । उसले ६ म्याच खेल्दासम्म पाँचमा हार तथा एक खेलमा मात्र जित निकालेको छ । कर्णाली गत संस्करणमा तेस्रो भएको टिम हो । यसपालि भने उसको प्रदर्शन अपेक्षाकृत रहन सकेन ।

तालिकाको पुछारमा रहेको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सको प्लेअफ सम्भावना भने कायमै छ । तर, उसको यात्रा निकै कठिन छ ।
यदि प्लेअफमा स्थान बनाउने हो भने जनकपुरले बाँकी दुई खेलमा फराकिलो जित निकाल्नुका साथै अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ । उसले पाँच म्याच खेल्दा चारमा हार तथा एक खेलमा मात्र जित निकालेको छ ।
२१ खेल सकिँदा एनपिएलको अंक तालिका :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।