काठमाडौं– कलाको सुन्दरतम् विधा चित्रकलामा यतिखेर सहरका तीनै पुस्ता झुम्मिएका छन् । ३ असारबाट आर्ट काउन्सिलमा चलिरहेको चित्रकलाकला प्रर्दशनीमा नाति, बुबा र हजुरबुबा पुस्ताका पेन्टिङहरु हेर्न सकिन्छ ।
अलफ्रेस्को मिडिया एन्ड इभेन्टले आयोजना गरेको मेलामा १ हजार चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा ७० भन्दा धेरै विद्यालयका विद्यार्थी र व्यावसायिक तथा अर्धव्यावसायिक रुपमा पेन्टिङ गर्दै आएका कलाकारका कला समेटिएका छन् ।
सबै उमेरसमूहका कलाकारलाई अवसर प्रदान गरी हौसला दिन उद्देश्यले नाति पुस्तादेखि बाजे पुस्तासम्मका चित्रकला प्रर्दशनीमा राखिएको अलफ्रेस्को मिडियाका कार्यकारी अधिकृत श्याम के श्रेष्ठ बताउँछन् ।
अलफ्रेस्को मिडियाले सन् २००८ देखि नै विभिन्न पुस्ताका चित्रकारहरुलाई एकै ठाउँमा समेट्दै कला प्रदर्शनी गर्दै आएको छ ।
प्रदर्शनीमा राखिएका चित्र खरिद गर्ने सुविधा पनि छ । प्रदर्शनीमा १ हजारदेखि ५ लाख रुपैयाँ मूल्यका पेन्टिङ बिक्रीमा छन् ।
प्रदर्शनी १२ असारसम्म चल्नेछ । प्रवेशका लागि कुनै शुल्क लाग्दैन । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने प्रदर्शनी दैनिक २ हजारजतिले अवलोकन गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।