काठमाडौं– सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लंघन गरी हुकुमी शैलीमा शासन गर्दै आएको आरोप लगाएकी छिन् ।
प्रतिनिधिसभाको शून्य समयमा उनले कारागार ऐनको दफा ११ र २५ उल्लंघन गरी उपचारका क्रममा रहेका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाल्ने र नेल लगाउने कारागारका कर्मचारीलाई कारबाही गर्न ठाडो आदेश दिनु प्रधानमन्त्रीको हुकुमी शैली भएको तर्क गरिन् । कारगार ऐनको दफा ११ मा नेल लगाउन चिकित्सकको सुझाब लिनुपर्ने र दफा २५ मा जघन्य अपराध गर्नेलाई नेल लगाउनुपर्ने व्यवस्था छ ।
सांसद पूर्णकुमारी सुवेदीले राप्ती नदीमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गरिन् । उनले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँके जिल्लाका १० हजार बिघा जमिन डुबानमा परेको बताइन् ।
सांसद प्रेम सुवालले बाँके जिल्लाको सिमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गरे । सांसद डिला संग्रौला, नवीना लामा, पार्वता डिसी चौधरी, पार्वती कुमारी विसुंखेले राजधानीमा अज्ञात समूहले महिलामाथि सिरिन्ज आतंक मच्चाउँदै आतंकित पारेकाले तत्काल पक्राउ गर्न सरकारको ध्यानाकर्षण गरे ।
सांसद दिलेन्द्रप्रसाद बडूले नेकपा विप्लव समूहसँग तत्काल वार्ता सुरु गर्न माग गरे । सांसद नारायणप्रसाद खतिवडाले बिर्ता उन्मूलन भए पनि नुवाकोट जिल्लामा एक हजार ५ सय ५८ रोपनी जमिन खनजोत गर्ने चार हजार ९ सय ५७ व्यक्तिलाई तत्काल मोही कायम गर्न सरकारको ध्यानाकर्षण गरे ।
सांसद तेजुलाल चौधरी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, र नारायणप्रसाद मरासनीले वर्षाका कारणले जनधनको क्षति पुगेकाले क्षतिपूर्तिको माग, तथा नदी नियन्त्रणको माग गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।