प्रकाश सपुत भर्सेस शम्भु राईः विडम्बना ! बोल्नै मान्दैनन् जीवन शर्मादेखि बद्री पंगेनीसम्म

काठमाडौं– केही दिनअघिसम्म सामाजिक सन्जाल र युट्युबमा चर्को चर्चा थियो– प्रकाश सपुतको गीत गलबन्दीको । 

अब यो चर्चा मोडिएर गीत चोरिएको हो कि होइन भन्नेमा पुगेको छ । गीतको लय आफ्नो गीतबाट चोरिएको आरोप अर्का गायक शम्भु राईले लगाएका छन् । राईले आफूले २०४८ सालमा रेकर्ड गराएको गीतबाट यो गीत चोरिएको आरोप लगाएका हुन् ।

यही कारणले अहिले यो गीतको प्रशंसा गर्नेहरुको पनि मत बाझिएको छ । 

हामीले यही सन्दर्भमा अन्य केही गायकहरुलाई तपाईंलाई के लाग्छ भनेर सोध्यौँ । 

विडम्बना ! अधिकांश सङ्गीतकर्मी यसबारे बोल्नै चाहँदैनन् । 

कतिसम्म भने लोकदोहोरी प्रतिष्ठानकै अध्यक्ष बद्री पंगेनी पनि यस विषयमा कुरा गर्न चाहँदैनन् । फोनमा सम्पर्क भएपछि पंगेनीले प्रश्न सुने । अनि छोटो उत्तर दिए– उनीहरुलाई सोध्नु, म यसबारे बोल्दिनँ । 



त्यसपछि उनले फोन काटे । पंगेनीले यही विषयमा कुरा गर्ने हाम्रो मनाशय बुझिसकेकाले त्यसपछि फोन नै उठाएनन् । 

बाग्लुङकै अर्का गायक जीवन शर्मा पनि यस विषयमा बोल्न चाहँदैनन् । यस विषयमा बोल्नु भनेको आफू पनि विवादमा तानिनु हो भन्ने बुझाइ जीवन शर्माको छ । 



‘म तटस्थ बस्न चाहन्छु,’ उनले भने, ‘दुवै मेरा नजिकका साथीभाई हुन् । चोरिएको हो कि होइन अब अदालतले फैसला गर्छ ।’

उनले थपे, ‘यो विषयमा बोलेर म दुवैमध्ये कोहीसँग पनि मनमुटावमा पर्न चाहन्नँ, मलाई विवादमा तानिनु छैन ।’

तर, जो यसबारे आफ्नो राय प्रकट गर्छन्, उनीहरुलाई लाग्छ, शम्भु राई ‘उचालिएका’ हुन् । यस्तै मान्यता राख्छन्, गायक सन्तोष लामा । 

‘लोकभाकामा सुरताल मिल्नु त स्वभाविक नै हो नि,’ उनले भने, ‘शम्भु दाइलाई अहिलेका युट्युबरहरुले उक्साएको जस्तो लाग्छ, गीत भाइरल मौका पारेर जथाभावी गर्ने युट्युबरहरुले अनेक बाहना बनाएका हुन् ।’ 

संगीतकार हरि लम्साल पनि सन्तोषको धारणासँग नजिक छन् । उनले भने, ‘लोक भाकाका केही प्याटर्न सिमिलर हुन्छन्, कुनै गीत ती प्याटर्नबाट बाहिर निस्कने हो भने त्यो लोकगीत नै रहँदैन,’ उनले भने, ‘लोक भाका भनेको लोकको गीत हो, त्यसैले भाका मिल्दैमा आपत्ति जनाउनु पर्ने हो जस्तो मलाई लाग्दैन ।’


  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १८:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया