२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

साम्राज्ञीको इन्गेजमेन्ट विवाद : के हो वास्तविकता, किन मौन छन् विशाल ?

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो जन्मदिनकै दिन इन्गेजमेन्टको घोषणा गरिन् । १८ नोभेम्बरमा इन्गेजमेन्टका केही तस्बिर सार्वजनिक गरेपछि उनी सामाजिक सञ्जालमा तीव्र चर्चामा रहिन् ।

योसँगै उनलाई बधाई तथा शुभकामना दिनेहरूको लर्को नै चलेको थियो । इन्स्टाग्राममार्फत् सार्वजनिक गरिएको तस्बिरमा साम्राज्ञीले प्रेमीको अनुहार नदेखाए पनि केही समयमै उनि धेरैको चासोको विषयमा रहे र उनको परिचय सार्वजनिक भयो ।



साम्राज्ञीका प्रेमि अमेरिकमा बसोबास गर्दै आएका कलाकार विशाल खरेल पुष्टि भएपछि चर्चाले नयाँ मोड लिएको छ । इन्गेजमेन्टको तस्बिरहरु सार्वजनिक भएलगत्तै खरेलको अघिल्लो सम्बन्ध, बच्चा र विवाहसम्बन्धी विभिन्न व्यक्तिगत विषयहरुले उनीहरुको सम्बन्धलाई झनै चर्चामा ल्याएको हो ।

साम्राज्ञीले प्रकाशित गरेको तस्बिरमा प्रारम्भमा प्रेमीको पहिचान गोप्य राखेकी उनले अन्ततः विशाल खरेलसँग नै इन्गेजमेन्ट भएको स्वीकार गरेपछि सामाजिक सञ्जालमा  खरेलको व्यक्तिगत विषयमा खोजीनिती भएको हो । विशाल फिल्म ‘प्रेम दिवस’ का मुख्य अभिनेता हुन्, साथै साम्राज्ञीसँग ‘हारेँ हारेँ’ र ‘मालती’ गीतका म्युजिक भिडियोमा सहकार्य पनि गरिसकेका छन् । म्युजिक भिडियो छायांकनका क्रममा दुवै नजिकिएको चर्चा पहिले नै चलेको थियो ।



तर इन्गेजमेन्टको खुलासामै खरेल एक सन्तानका पिता भएको तथ्य बाहिरिएपछि साम्राज्ञीमाथि कसैको वैवाहिक सम्बन्ध बिगारेको आरोपसहित सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भयो । यीनै आरोपको केन्द्रमा परेपछि साम्राज्ञीले लामो स्पष्टीकरण जारी गर्दै आफूविरुद्ध उठेका सबै दाबी निराधार रहेको बताइन्। उनका अनुसार, खरेल विवाहित थिएनन् र उनीसँग बच्चा भएको कुरा उनले सुरुमा नै थाहा पाएकी थिइन् ।

साम्राज्ञीले लेखेकी छन्, ‘माथि उठेका धेरै आरोपहरू भावनामा बगेर बनाइएको र प्रमाणविहीन छन् । खरेल विवाहित थिएनन्, उनीहरूको वैवाहिक स्थिति बिग्रिएकै थिएन । त्यसैले डिभोर्सको विषय नै उठ्दैन । खरेलले आफ्नो अघिल्लो सम्बन्धबारे सुरुमा नै सबै कुरा स्पष्ट रूपमा बताइसकेका छन् ।’ साम्राज्ञीको दाबी अनुसार खरेलका छोरा उनकी विवाह नभएकी ‘लामो समयकी पूर्वप्रेमिका’बाट जन्मिएका हुन् ।

उनले सामाजिक सञ्जालमा भइरहेको चरित्रहत्या र आरोपप्रति कडा आपत्ति जनाउँदै यस्तो अनावश्यक आक्रमणले आफूलाई मानसिक रूपमा गम्भीर असर पारेकोसमेत बताएकी छन् । साम्राज्ञीले थप लेखेकी छन्, ‘प्रमाण नभएका कुरामा विश्वास गर्दै कुनै व्यक्तिको मान–प्रतिष्ठामा आघात पुर्याउनु कति हानिकारक हुन्छ भन्ने धेरैले सोच्दैनन् । मलाई लगातार बदनाम गर्ने प्रयास र अनावश्यक टिप्पणीका कारण मानसिक रूपले पीडित बनेकी छु ।’

‘खरेलकी पूर्वप्रेमिका’ ले आफूलाई पटक–पटक धम्की र ब्ल्याकमेलिङ गरेको दाबी गर्दै साम्राज्ञीले थप भनेकी छन्, ‘मैले कहिल्यै उनको सम्बन्धमा हस्तक्षेप गरेकी थिइन । तर उनले मलाई धेरै समयदेखि विभिन्न बहानामा धम्क्याइरहेकी थिइन् । अहिले पनि उनी विशालमाथि आर्थिक दबाब दिइरहेकी छन् ।



आफ्नो निजी जीवन सार्वजनिक भइसकेपछि आएको असहजता र गोपनीयता भंगप्रति पनि साम्राज्ञीले असन्तुष्टि व्यक्त गरेकी छन् । तर खरेलकी पूर्वपत्नी दाबी गरिरहेकी सरिता खरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एउटा भिडियोले तीनै जना बीचको सम्बन्ध थप सतहमा ल्याएको छ । सरिताले आफू र विशाल वैवाहिक सम्बन्धमा रहेको दाबी गरिरहेकी छिन् । र आफूहरूको दुई वर्षका छोरा पनि भएको बताइरहेकी छिन् ।

‘साम्राज्ञीलाई थाहा थियो, हामी विवाहित थियौँ र बच्चा पनि थियो । थाइल्याण्डमा म्युजिक भिडियो सुटिङका क्रममा उनीहरूबीच नजिकिएको थाहा पाएपछि र विशाल स्वंयमले समेत त्यो सम्बन्ध स्वीकार गरेपछि हाम्रो सम्बन्ध टुटेको हो ।’ सरिताको दाबी छ ।

सरिताका अनुसार उनीहरूको एक वर्षअघि सम्बन्ध विच्छेद  भएको हो । त्यसयता बच्चा र घर–परिवारका सबै जिम्मेवारी आफूले उठाउँदै आएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘म अहिले मुभ–अन भइसकेकी छु । तर समाजमा गरिने अनावश्यक ट्रोलिङले मेरो बच्चा र जीवन प्रभावित नहोस् भन्ने मात्र चाहन्छु ।’ आफ्नो नाममा बनेका विभिन्न फेक आइडी आफूले नचलाएको समेत उनको दाबी छ ।

किचलो बढ्दै जाँदा पनि विशालले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । साम्राज्ञी र सरीताको आ-आफ्नै दाबीका बीच वास्तविकता के हो भन्ने खुल्न भने सकेको छैन । साम्राज्ञीले आफूले कसैको वैवाहिक सम्बन्धमा हस्तक्षेप नगरेको र सबै कुरा पारदर्शी रहेको बताइरहँदा सरिताले प्रतिकार गरेकी छिन् ।

साम्राज्ञीले आफ्नो स्पष्टीकरणमा आफुहरुले आफ्नो व्यक्तिगत जीवनलाई निजी राख्न चाहेको तर मानिसहरूले गोपनीयतामाथि फोहोर फ्याँकेझैँ आक्रमण गरिरहेको गुनासो गरिरहेकी छन् ।  निरन्तरको ट्रोलिङ र चरित्रहत्या अभियानले आफू र विशाल दुवैलाई अनावश्यक तनाव दिएको दिएको पनि उनको भनाइ छ ।

यद्यपी विशालमा अझै मौनता कायम रहेकोले घटनाको वास्तविक पक्ष बाहिर आएको छैन भने अनेक प्रश्नहरू पनि अनुत्तरित बनेका छन् । सामाजिक सञ्जालमा भइरहेका व्यक्तिगत आक्षेप, टिप्पणी र अनुमानले विषयलाई झनै संवेदनशील बनाएको छ ।

 

  • प्रकाशित मिति : २० मंसिर, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया