जिउँदा ३८ सन्तान जन्माइसकिन् ३९ वर्षे यी महिलाले, एक्लै गर्छिन् हेरचाह

कम्पाला– युगान्डाकी ३९ वर्षे मरियम नबातान्जीले जिउँदै ३८ सन्तान जन्माइसकिन् । उनको विवाह १२ वर्षको उमेरमा भएको थियो । एक सालपछि नै उनले जुम्ल्याहा बच्चा जन्माइन् ।

त्यसबेलै डाक्टरलाई देखाउँदा थाहा भयो, उनको अन्डाशय असामान्य रुपले ठूलो छ, र गर्भनिरोधक औषधि उनका लागि घातक हुन सक्छ । त्यतिखेर नबातान्जीले सोचेकै थिइनन् कि शरीरको यो सानो विकृतिले उनलाई ३८ बच्चाको बोझ थोपरिदेला । 

दुई वर्षअघि पतिले पनि छाेडिदिएपछि सबै सन्तानको हेरचाह नबातान्जीले एक्लै गर्दै छिन् । नबातान्जी आफ्ना सन्तानसँगै राजधानी कम्पालाबाट ५१ किलोमिटर परको गाउँमा बस्छिन् । अफ्रिकामा उनको परिवार सबैभन्दा ठूलो परिवार हो । 

१५ गर्भबाट जन्मेका ३८ जीवित सन्तानमध्ये ६ सेट जुम्ल्याहा छन् । चारपटक उनले तीन–तीन बच्चा जन्माइन् भने पाँचपटक चार–चार बच्चालाई जन्म दिइन् । एकपटक भने नबातान्जीका ६ सन्तान जन्मिए । तर, यीमध्ये कोही जीवित बसेनन् । 

पछिल्लोपटक अढाइ वर्षपहिले गर्भवती हुँदा उनको गर्भमा ६ सन्तान थिए । एउटाको गर्भमै मृत्यु भयो, जसका कारण कोही पनि जीवित जन्मन सकेनन् । 



यो गिनिज बुकको विश्व रेकर्डभन्दा भने निकै कम हो । १८औँ शताब्दीमा एक रसियाली महिलाले २७ गर्भबाट ६९ बच्चा जन्माएको रेकर्ड छ । 

बातान्जीका पति सधैँजसो घरबाहिर रहन्थे । उनले पत्नीको कहिल्यै राम्रो हेरचाह गरेनन्, उल्टै यातना दिइरहे । नबातान्जीको घरमा पतिको नाम अभिशापको रुपमा लिइन्छ । 



जीवनमा अनेकौँ हन्डर खानुपरेको नबातान्जी बताउँछिन् । वास्तवमा उनको यति धेरै सम्तान हुनुको कारण पनि त्यो अँध्यारो अतीत नै हो । 

जन्मेको तीन दिनमै आमाले उनलाई छोडेर गइन् । बाबाले अर्को बिहे गरे । सौतेनी आमाले सबै बच्चालाई काँचको गिलाँस तोडेर खानामा मिसाएर खान दिइन् । उनका सबै भाइबहिनी मरे, उनको भने बल्लतल्ल ज्यान जोगियो ।

सात वर्षे नबातान्जी घरबाट भागेर आफन्तको शरणमा पुगिन् । उनले ६ सन्तान जन्माएर फेरि आफ्नो परिवार बनाउने संकल्प गरिन् । तर, अन्डाशयको विकृतिले उनलाई सोचेभन्दा ६ गुना बढी सन्तान दिलायो । 

अहिले उनको दिनचर्या नै परिवार सम्हाल्नु हो । पैसा कमाउनेदेखि बच्चाको हेरचाह गर्ने उनी नै हुन् । पैसा जुटाउन उनी हेयर ड्रेसिङदेखि कबाडी सामान बेच्नेसम्मका काम गर्छिन् । 

नबातान्जीको सबैभन्दा ठूलो सन्तान २३ वर्षको भयो । जेठो छोरा किबुका आफ्नो आमालाई हरसम्भव मद्दत गर्छन् । आर्थिक संकटका कारण उनले माध्यमिक तहभन्दा माथि पढ्न पाएनन् । 

  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार २०:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया