२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

एनपिएललाई कलाकारको साथ, झन् बढ्दै रोमाञ्चकता

नेपालभर अहिले क्रिकेटको रौनक छाएको छ । त्रिभुवन  क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणले देशलाई  नै क्रिकेटमय बनाइदिएको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा  १ मंसिरबाट सुरु भएको एनपिएल २७ गतेसम्म चल्ने  भएकाले अझै केही दिनसम्म यसको उत्साह कायम रहने निश्चित छ ।

अन्तर्राष्ट्रियस्तरमै चर्चा बटुल्न सफल एनपिएलप्रति आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्मको उत्साह प्रशंसनीय देखिन्छ । फ्लड लाइटले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको उपस्थिति छ । 



विशेषगरी नेपाली कला–संगीत क्षेत्रका कलाकारले सुरुवाती चरणदेखि नै आफ्नो व्यस्ततालाई व्यवस्थापन गर्दै रंगशालामा उपस्थित समर्थन जनाइरहेका छन् । कलाकारको व्यस्तता वर्षभर रहन्छ । तर, मंसिर र पुष त अझै सांगीतिक कार्यक्रम, सांस्कृतिक महोत्सव र विभिन्न सार्वजनिक प्रस्तुतीले भरिने सिजन मानिन्छ । यस्ता कार्यक्रमको चापबीच पनि धेरै कलाकार क्रिकेट मैदानमा उपस्थित भई आफ्नो मनपर्ने टिमप्रति समर्थन जनाइरहेका छन् । 

कतिपय कलाकार त दौडधुपकै बीचमा एक कार्यक्रम समाप्त गरेपछि अर्को कार्यक्रमतिर लाग्नेक्रममा पनि मोबाइलमै खेलको स्कोर हेरिरहेका देखिन्छन् । मैदानमा उपस्थित भई समर्थन गर्ने कलाकारले वातावरणमा ऊर्जा थप्ने काम गरिरहेका छन् भने उपस्थित हुन नसक्नेहरूले सामाजिक सञ्जालमार्फत निरन्तर हौसला भर्दै आएका छन् ।



गायिका रचना रिमाल, एलिना चौहान, प्रताप दास, बद्री पंगेनी, एन्जिला रेग्मी, अनिता चलाउने, दुर्गेश थापा, चक्र बम, टंक तिमिल्सना, इब्सल सञ्ज्याल, नायिका करिश्मा श्रेष्ठलगायतका थुप्रै कलाकारले रंगशाला पुगेर आफ्नो मन परेको टिमको जर्सी लगाउँदै उत्साहपूर्वक समर्थन गरिरहेका हुन् । 

मैदानका विभिन्न कुनाबाट कलाकारको क्रिकेटप्रतिको मोह र समर्थन देखेर खेलप्रेमी आम नेपालीका मनमा अझै बढी देशभक्तिको भावना जगाएको छ । कलाकारको सहभागिताले खेललाई केवल प्रतिस्पर्धात्मक मात्रै होइन मनोरञ्जनात्मक बनाइदिएको छ । गायक बद्री पंगेनी आफू सानैबाट क्रिकेटप्रेमी भएको बताउँछन् । क्रिकेटको माध्यमबाट देशलाइ चिनाउन सकिने र अर्थतन्त्रमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।  
               
एनपिएललाई लिएर फैलिएको उत्साहले काठमाडौं मात्र होइन, देशभरका क्रिकेटप्रेमीलाई एकै सूत्रमा बाँधिदिएको छ । प्रत्येक खेलसँगै उर्लिने दर्शकको भीड, सामाजिक सञ्जालमा ट्रेन्ड हुने चर्चा, प्रतिस्पर्धी टिमहरूबीचको रोमाञ्चक भिडन्त र खेलाडीको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटको भविष्य उज्यालो हुँदै गएको आभास दिन्छ । कलाकारको निरन्तर उपस्थिति र समर्थनले यस अभियानलाई झनै बलियो आधार दिएको छ । यसले युवा पुस्तालाई क्रिकेटप्रति आकर्षित गराउनुका साथै कला र खेल दुवै क्षेत्रमा रहेको लोकप्रियतालाई एकसाथ जोड्ने पुलको काम पनि गरिरहेको छ ।

फरकफरक टिमका समर्थक कलाकारहरू टिमअनुसारको जर्सी लगाएर मैदानमा उभिएको दृश्यले एनपिएललाई अझै रंगीन बनाइदिएको छ । उनीहरूका जर्सी, टिमका नारा, रमाइलो सामाजिक सामाग्री र भिडमा मिसिने उनीहरूको सहज उपस्थिति स्वयंमा एउटा सौन्दर्य र आकर्षणको विषय बन्छ । कलाकार दर्शकदीर्घामा बस्दा सामान्य दर्शकले उनीहरूमार्फत खेलप्रति अझै धेरै महत्त्व दिन थालेका छन् । 

अन्तिम चरणतिर उन्मुख यस संस्करणले प्रतियोगितामा थप रोमाञ्चक मोड ल्याइरहेको छ । निर्णायक खेल सुरु भएसँगै दर्शकको भीड, कलाकारको उत्साह र मिडियाको चहलपहलले वातावरणलाई झनै जीवन्त बनाइदिएको छ । मैदानमा उपस्थिति जनाउने कलाकारलाई हेर्दा उनीहरू केवल मनोरञ्जन क्षेत्रमा मात्र होइन, खेलकुदको समृद्ध यात्रामा समेत समान रूपमा सहभागी रहेको अनुभूति हुन्छ । आजकल कलाकार र खेलाडीबीचको सम्बन्ध धेरै आत्मीय र सहयात्री जस्तै बन्दै गएको छ, जसले राष्ट्रको सकारात्मक छवि निर्माणमा सशक्त योगदान पुर्याइरहेको छ ।



यसरी हेर्दा, एनपिएलले नेपालमा क्रिकेट मात्र होइन, सम्पूर्ण मनोरञ्जन र खेलकुद क्षेत्रबीचको सम्बन्धलाई थप नजिक ल्याइदिएको छ । कलाकारको उत्साह, समर्थकको एकता, खेलाडीको लगन र आयोजकको व्यवस्थापन मिलेर यस प्रतियोगितालाई भव्य उत्सवको रूपमा स्थापित गरिसकेको छ । आगामी दिनमा पनि यस प्रकारको उत्साह, एकता र लगन निरन्तर रहने हो भने नेपाली क्रिकेटले अझै उचाइहरू छोइरहनेमा कुनै शंका छैन ।  

  • प्रकाशित मिति : २३ मंसिर, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया