एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप तथा कडा प्रतिबन्ध लगाएका छन् । अब इरानका नेता अयातुल्ला खामेनी र उनको सेनाका आठ शीर्ष सैन्य कमान्डरले अमेरिकामा वित्तिय सुविधाको लाभ लिन पाउने छैनन् ।
गत बुधबार इरानले अमेरिकी जासूसी ड्रोन खसाइदिएकोमा यो प्रतिबन्ध लगाएका हुन् । योभन्दा पहिले ट्रम्पले शुक्रबार इरानमाथि आक्रमण गर्ने आदेश दिएका थिए । तर, उनी स्वयंले १० मिनेटअगाडि मात्र त्यो आदेश फिर्ता लिएका थिए ।
ट्रम्पका अर्थसचिव स्टिभन मेनुचिनको उपस्थितिमा प्रतिबन्ध लगाउने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अब अमेरिकाले इरानले कहिल्यै र कुनै पनि परमाणु हतियार बनाउन नदिने उनले बताएका छन् । ‘अब इरानमाथि दबाब लामो समयसम्म रहिरहन्छ,’ ट्रम्पले भनेका छन्, ‘यो इरानको आक्रमणको जवाफ हो, यो हुने पहिले निश्चित थियो ।’
तर, अर्को एक रिपोर्ट अनुसार अमेरिकाले पछिल्लो समय इरानको जासूसी नेटवर्कमाथि बारम्बार साइबर हमला गरेको छ । तर, ट्रम्पले भनेका छन्, ‘अब इरानमाथि धेरै प्रतिबन्ध आएका छन् । तर, म त्यो दिनको पर्खाइमा छु जब इरानमाथिका प्रतिबन्ध हट्नेछन् र ऊ फेरि एक समृद्ध राष्ट्र बन्ने यात्रामा अगाडि बढ्ने छ ।’
अमेरिकाले यी सब प्रतिबन्ध लगाएको भए पनि इरानले आफू अमेरिका सामु नझुक्ने बताएको छ । इरानले अब संयुक्त राष्ट्रसंघसँग कुनै पनि कुरा नगर्ने पनि जनाएको छ । ‘हामीमाथि प्रतिबन्ध लगाइए पनि हामी झुक्ने छैनौँ,’ इरानका नेताले भनेका छन्, ‘उसको दबाबले हामीलाई झुकाउँदैन, जहिलेसम्म अमेरिकाको यो रणनीति रहन्छ, त्यति बेलासम्म कुनै वार्ता अगाडि बढ्न सक्दैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।