कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले आफू छोरीको दीर्घ उपचारका लागि अमेरिका पुगेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा फैलिएको ‘धुर्मुस सपरिवार अमेरिका पुगे’ भन्ने हल्ला पछि उनले शुक्रबार फेसबुकमार्फत विस्तृत स्ट्याटस लेख्दै त्यसको खण्डन गरेका हुन् ।
धुर्मुसका अनुसार उनकी १२ वर्षीया छोरीलाई जन्मेको १६ दिनमै म्यानेन्जाइटिस भएको थियो। त्यसपछि घुँडाको हड्डीमा इन्फेक्सन देखिँदा दाहिने खुट्टा देब्रेभन्दा करिब ७ सेन्टिमिटर छोटो भएको छ । नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको सिफारिसअनुसार अहिले अमेरिकामा दीर्घकालीन उपचार सुरु गरिएको उनले उल्लेख गरेका छन्।
आफूहरू आर्थिक हैसियत कमजोर भएकाले ‘एक्स्ट्राअर्डिनरी ग्रीनकार्ड’ अन्तर्गत अमेरिकाले एक वर्षअघि भिसा उपलब्ध गराएको र सो कार्डमार्फत कम आम्दानी भएका अभिभावकका बच्चाले निःशुल्क स्वास्थ्य सेवा पाउने व्यवस्था रहेकाले त्यही प्रक्रियामा अमेरिका आएको उनले बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा उत्पन्न विवादका कारण अमेरिका उडेको जस्ता टिप्पणीहरू बढेपछि उनले त्यो गलत बुझाइ भएको बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।