Tue, 24 Sep, 2019


[विचार] विचारसँग डराइरहेकाे सत्ता
रसुवाली कवि
फरकधार / असार १०, २०७६
रसुवाली कवि ()

तपाईंसँग विचार छ, विचार बोकेर हिँडिरहनु भएको छ । त्यही विचारमा रहेर कविता लेख्नुहुन्छ, गीत गाउनुहुन्छ, कुनै रेडियोमा कार्यक्रम प्रस्तुत गर्नुहुन्छ वा सामाजिक सन्जालमा आफ्ना विचार लेख्नुहुन्छ । 



यो विचारसँगै तपाईं कुनै एउटा राजनीतिक धारमाथि विश्वास राख्नुहुन्छ, आस्था राख्नुहुन्छ । यो त संविधानले नै प्रत्याभूत गरेको छ कि तपाईंले कुनै एउटा राजनीतिक धारमाथि विश्वास राख्न पाउनुहुन्छ । अनि तपाईंसँग हतियारको नाममा कलम छ, शब्दहरु छन् । त्यसलाई कलात्मक रुपमा तपाईं मिलाउनुहुन्छ । 

तर, त्यही शब्दहरु मिलाएको देखेर एक हुल प्रहरी जत्था तपाईंलाई घेराबन्दीमा पार्छ; मानौँ, तपाईंले कुनै अर्को देशको भूभाग आफ्नो कब्जामा लिनु भएको छ; मानौँ, शब्दहरुसँग खेल्नु बम र बारुद चलाउनु जस्तै हो । त्यही शब्दहरुलाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएकाले तपाईंलाई घेरा हालेका ती प्रहरीले तपाईंलाई हतकडी लगाउँछन् । 

यस्तो बेला कस्तो अनुभूति होला ? 

खासमा प्रहरीको यो व्यवहार आफूमाथि नपर्दासम्म कसरी सोच्नु ?

मलाई चाहिँ त्यो अनुभव बटुल्ने दुखद मौका मिल्यो । अनि मलाई लाग्यो, हलुका चलेको हावाको झोंकाले सुकाइरहेको रेसमी कपडालाई हल्लाएजस्तो जीवनको छेवैबाट मृत्यु हिँड्यो । 

वैशाखको एक दिन म चिया पसलमा चिया पिउँदै थिएँ । एक हुल प्रहरी आए र मलाई समाते । संसदमा दुई तिहाई सांसद्को समर्थन पाएको यो शक्तिशाली सरकारको शक्तिशाली सूचना तथा गुप्तचरीले मलाई समातेका थिए । म एक्लै थिएँ । मेरोविरुद्ध राज्य लागेको थियो । 

राज्यसँग अनेक विकल्प थिए; उसले मलाई बेपत्ता बनाउन सक्थ्यो; उसले मलाई चरम यातना दिएर बाँकी जीवन मर्नु र बाँच्नुको दोसाँधमा लगेर छोडिदिन सक्थ्यो; उसले मलाई थर्काउन, चिथोर्न, मानसिक यातना दिनसक्थ्यो । राज्यका यतिका विकल्प थिए, मसँग चाहिँ प्रहरीले हतकडी लगाइसकेपछि एउटै विकल्प थियो– उसको साङ्लोमा बेरिनु । यो मेरो विचारलाई आफ्नो साङ्लोमा राख्ने उसको प्रयास थियो । 

त्यो दिन म यत्तिकै बसिरहेको थिएँ । सशस्त्र प्रहरीले मलाई भेट्नेवित्तिकै हत्कडी लगाए । मानसिक रुपमा मलाई त्यहाँ नै गलाउन खोजियो । उनीहरुले मलाई झुठो आरोप लगाएका थिए, फसाउन खोज्दै थिए । उनीहरु त्यति बेला सफल हुन्थे जतिबेला म गल्थेँ । मैले पछि सुनेँ, चालिस प्रहरीले घेरा हालेर मलाई पक्राउ गरिएको रहेछ । 

उनीहरुले मलाई त्यहाँबाट सोझै सशस्त्र प्रहरीको ब्यारेक पुर्याए । मलाई छटपटी सुरु भइसकेको थियो । हिजो जनयुद्धमा यस्तै ब्यारेकमा पुर्याइएका कतिपय व्यक्तिहरु अहिलेसम्म पनि बेपत्ता छन् । कतिका शव जङ्गलमा पुरिएका समाचार आएका छन् । इतिहासका पानामा ती चित्रहरु सग्ला छन् । यो स्मरणले मलाई झन् आजित बनायो, भाउन्न बनायो । 

मैले वरपर हेरेँ । जताततै प्रहरी नै प्रहरी थिए । हतियार थिए । म जहाँ थिएँ, त्यो यातना गृह हो भन्ने भान मलाई भइहाल्यो । अनि फेरि मनले सोच्न थाल्यो– अब मेरो जीवन यति नै रहेछ । मलाई सन्चारको माध्यमहरुबाट पर राखिएको थियो । 

ब्यारेकमा पुगेको आधा घन्टापछि चाहिँ मलाई फोन दिइयो । जब मैले हातमा मोबाइल लिएँ, मनमा खुसी पलायो । त्यो आधा घन्टा त मेरालागि उराठ समय भएको थियो । भर्खरै रोपेर आएको धानलाई बाढीले बगाइदिएपछि निराश भएको किसान जस्तै । 

फोन हातमा त लिएँ तर कसलाई गर्ने ? यो प्रश्न मेरो मनमा उब्जियो । घरमा र केही साथीहरुलाई म पक्राउ परेको जानकारी दिएँ । मिडियामा काम गर्ने केही साथीहरुको पनि फोन नम्बर मसँग थियो । बागबजारको चिया पसलमा प्रगतिशिल लेखन तथा उत्तर आधुनिकतासम्मका विषयमा बहस गरेका केही अग्रज तथा साथीहरुको नम्बर मसँग थियो । मिडियाका साथीहरुलाई फोन गरौँ कि भन्ने भयो । फेरि अर्को मनले भन्यो– एउटा कवितासम्म छाप्न इन्कार गर्ने, पत्रकार हुनु भनेको आकाश थाम्नु हो भन्ने भावभङ्गीमा देखिने साथीहरुलाई फोन किन गर्नू ? 

यो मनले जित्यो, मैले कसैलाई फोन गरिनँ ।

फेरि मिडियाका साथीहरु जग्गा दलाल, सुन तस्कर, बलात्कारीहरुका समाचारका पछाडि थिए । चप्पल लगाएर विचारको बाटोमा हिँडिरहेको म पक्राउ पर्नु उहाँहरुका लागि समाचारको विषय नहुन पनि सक्थ्यो । मजस्तो सामान्य मान्छेका लागि बोलिदिने कोही होलान् भन्ने नै मलाई लागेन । 

तर, आखिर मेरालागि बोलिदिने मान्छेहरु पनि हुनुहुँदो रहेछ । उहाँहरुले आन्दोलन गर्नुभयो । फेसबुकमा स्टाटस लेख्नुभयो । कतिजनाले फेसबुक फोटोमा कालो पोत्नुभयो । माइतीघर मण्डलदेखि जिल्ला अदालतसम्म प्ले कार्ड बोकेर आन्दोलन गर्नुभयो । मण्डला नाटक घरमा सरकारलाई मेरो रिहाइका लागि दबाब दिन आन्दोलन भयो । अरु विरोध कार्यक्रम भए । मलाई लाग्यो, सामान्य मानिसका लागि बोलिदिने कोही हुनुहुँदो रहेछ !

घरमा र केही साथीहरुलाई फोन गरेपछि त्यो दिन मैले मेरो आँखाअगाडि नै मृत्यु नाचिरहेको हेरिरहेको छु जस्तो आभास भएको थियो, मृत्यु मेरोअगाडि नाचिरहेको छ भन्ने सोच आएको थियो । यो सोच कति भयानक हुँदो रहेछ भन्ने मैले त्यही दिन बुझेँ । 

त्यही दिन मैले सम्झिएँ, सरस्वती प्रतीक्षाको एउटा कविताः

हो
म प्रतिपक्ष मान्छे हुँ
तिम्रो बिधानले नहिड भन्छ मलाई 
र मैले हिडेको 
पाइलाका प्रत्येक 
डोबहरुलाइ 
लान्छनाको कोर्राले 
हिर्काउन मन पराउँछ
 तिम्रो सोचाइको मस्यौदाले 
नबोल भन्छ मलाई 
र मेरो आवाजको 
मानचित्रमा 
अतिरन्जित आरोपको हिलो 
छ्याप्न रुचाउँछ ‘

हो, म एउटा प्रतिपक्ष थिएँ । मलाई सत्ताले उत्पादन गरेका विचारहरु मन परेनन् । ती विचार सत्ताको शक्तिको उन्मादबाट निर्देशित थिए । मैले ती विचारको आलोचना गर्ने निर्णय गरेँ, सालिन ढंगले । तर, त्यही आलोचनाको चर्को मूल्य मैले चुकाउनु पर्यो । सत्ताले आफ्नो विचारअनुरुप मेरो कोठा खानतलासी गर्यो । मानौँ, उसले मेरो कोठामा ठूलाठूला बारुद छ भन्ने सोच्यो । तर, मेरो कोठाबाट उसलाई हात पर्यो, केही पत्रपत्रिका र पुस्तक । यसले उसलाई पूर्ण सन्तुष्ट बनायो सायद । 

यता म उसले लगाइदिएको हतकडीसहित घर सम्झिरहेको थिएँ, आफन्तहरु सम्झिरहेको थिएँ । मेरी जीवनसाथी सम्झिइरहेको थिएँ, रसुवामा मेरो घरमा कति चिन्ता भयो होला भन्ने सम्झिइरहेको थिएँ । 

म एउटा हिरासत कक्षमा थिएँ, आकारमा त्यो कक्ष सानो थियो । तर, मैले अनेक कुरा सम्झिइरहेको थिएँ, सोचको आयातन त्यो कक्षभन्दा कयौँ गुणा ठूलो थियो । मेरो दिमागमा अनेक छालहरु उर्लिरहेका थिए, चिन्ता बढ्दो थियो । त्यो दिन मैले त्यहाँ आफ्ना मान्छेहरु कसैलाई भेट्न पाइनँ । मेरो चिन्ता कम गर्ने बाटो पाइनँ । 

भोलिपल्ट त्यही पीडामा रहिरहँदा, त्यही त्रासमा रहिरहँदा उन्मुक्त पुस्ताका माधब घिमिरे अटल, केसरी अम्गार्इं साहित्यकारहरु भैरबी भूगोल, ज्वालामुखी, प्रेमिला राई, युवा नेता गौतम राई, कृष्ण किसु न्यौपानेलगायत धेरै जना म भएको ठाउँमा आउनु भयो । उहाँहरुसँग भेट्न पाएँ । 

अब मनमा अलिक शान्ति भयो । मन दुखिरहेको थियो, त्यसलाई अलिक सहज बनाउन पाएँ । साथीहरु हुनुहुँदो रहेछ भन्ने भयो । तर, मेरो मनमा घाउ बनाएको थियो सत्ताले । अनि उसैले त्यसमा नुन छरिरहेको थियो । म दुखिरहेँ, दिनहरु बित्दै गए । तर, यो दुखाइको एउटा पाटोमा थोरै उत्साहजस्तो भाव पनि थियो । त्यो हो– एउटा कवितासँग डराएर यो सत्ता र सरकार, यो राज्य र यी नेताहरु मलाई यातना दिइरहेका छन् ।

५ असारमा मलाई जिल्ला अदालत काठमाडौंले सफाइ दियो । मैले यो कुरा सामाजिक सन्जालमा लेखेँ । एकजना मित्रले कमेन्ट गर्नुभयो– विप्लव नि हुने, अनि कविता लेख्छु पनि भन्ने भएपछि गिरफ्तारी नभए के हुन्छ त ? 

मैले ती मित्रको प्रोफाइल भिजिट गरेँ । उहाँ लिपिस्टिक र पाउडरले एउटा युवतीलाई सुन्दर बनाएको र त्यो सौन्दर्यमा आफू लठ्ठ भएको खालमा गजल लेख्नु हुँदो रहेछ । मलाई उहाँमाथि दया लाग्यो किनकि उहाँले त्यस्तै हलुका टिप्पणी गर्नुभएको थियो । त्यसो त यस्ता टिप्पणी अरु साथीहरुले पनि गर्नुभयो । केही साथीहरु मलाई पक्राउ गरिनुको अन्तर्य बुझ्नतिर लाग्नुभन्दा सतही प्रतिक्रिया दिनमा व्यस्त हुनुभयो । 

अरु वाहना जे बनाए पनि मलाई स्वतन्त्र रुपमा अभिव्यक्त हुन नदिन मुद्दा चलाइएको थियो । अन्यथा त म लेखेर बसिरहने मान्छेलाई बालुवाटारको जग्गामा कमिसन खायो भन्ने आरोप त कसैले लगाउन सक्दैन नि ! यति सहज कुरा साथीहरुले बुझिदिनु भएन । 

हामीले गणतन्त्र ल्यायौँ । होला, यो अभियानमा मेरो प्रयास अत्यन्त मसिनो होला, तर के मैले देशको व्यवस्थालाई अरु नागरिकले जस्तै उपभोग गर्न नपाउने ? विराट अनुपम, पशुपति शर्मा, ज्ञानेन्द्र शाही, प्रनेश गौतमहरुले पनि अब बोल्न नपाउने ? के यो गणतन्त्र सत्तासिनहरुका लागि मात्र आएको हो, हाम्रा लागि आएको होइन ? 

के म एउटा विचारसँग जोडिनु अहिलेको संविधानले दिँदैन ? के विचारहरुको हत्या हुनुपर्छ ? यो सत्ता किन यसबारे मौन छ ? 

जे होस्, अब त मैले अदालतबाट पूर्ण रुपमा सफाइ पाइसकेको छु । ममाथि लागेको मुद्दा जितिसकेको छु । यो मुद्दा मैले मात्र जितेको होइन, सत्यले जितेको हो, अभिव्यक्ति गर्न पाउनु पर्छ भन्ने अधिकारले जितेको हो । 

तर, विचारलाई लिएर अदालतसम्म एउटा नागरिक पुग्नु पर्छ भने त्यो कसरी न्याय हुनसक्छ ? यो सत्ता किन विचारसँग डराउँछ ? 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्