लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएका छन् । लुम्बिनीलाई पहिलोपटक एनपिएलको उपाधि दिलाउन नायक बनेका उनी उत्कृष्ट नेपाली खेलाडी चुनिएका हुन् ।
योसँगै रोहितले ६१ लाख रुपैयाँ पर्ने एक थान ओमोडा–जाइको कार उपहार पाए । उनले लिगमा सर्वाधिक सफल नेपाली ब्याटर घोषित भएबाफत बाइक पनि उपहार प्राप्त गरे । रोहितले यस सिजनमा १० खेलमा २ सय ६७ रन बनाउनुका साथै १० विकेट लिए ।

उनले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ह्याट्रिक विकेट लिए । यस्तै, लुम्बिनी लायन्समै आबद्ध बलर शेर मल्ल ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । योसँगै उनले पल्सर मोटरसाइकल उपहार पाए । शेरले यसपटक १० खेलमा १७ विकेट लिए । उनी सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्तरूपमा शीर्ष स्थानमा रहे ।
त्यस्तै, लुम्बिनीमै आबद्ध नामिबियाका फास्ट बलर रुबेन ट्रम्पेलम्यान प्लेयर अफ द सिरिज घोषित भए । योसँगै उनले ५ लाख रुपैयाँ नगद प्राप्त गरे । रुबेनले लिगमा १५ विकेट लिनुका साथै ६५ रन बनाए ।
उनले फाइनलमा लुम्बिनीलाई ६ विकेटको जित दिलाउनेक्रममा २.१ ओभरमा तीन रन मात्र दिएर महत्वपूर्ण तीन विकेट लिए ।
यस्तै, दोस्रो सिजनको एनपिएलमा उत्कृष्ट बलरको अवार्ड विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले जिते । योसँगै उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे । सन्दीपले लिग अवधिभर उत्कृष्ट प्रदर्शन गरे ।

उनले ९ खेलमा ४.९१ को इकोनमी रेटमा सर्वाधिक १७ विकेट लिए ।
यस्तै, ‘रेडबुल इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ अवार्ड सुदूरपश्चिमका फास्ट बलर अविनाश बोहराले जिते । योसँगै उनले दुई लाख रुपैयाँ प्राप्त गरे ।
व्यक्तिगतरूपमा एनपिएलको दोस्रो सिजन अविनाशका लागि पनि राम्रो रह्यो ।

उनले ९ खेलमा ७ः४५ को इकोनमीमा १७ विकेट लिए । यस्तै, इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टको अवार्ड लुम्बिनीमा आबद्ध स्पिनर तिलकराज भण्डारीले जिते ।
योसँगै उनले २ लाख रुपैयाँ पुरस्कार पाए । तिलकले यस सिजनको एनपिएलमा ८ खेलमा ५.४४ को इकोनमीमा ७ विकेट लिए ।
उपाधि विजेता लुम्बिनीले पुरस्कारस्वरूप ट्रफीसहित एक करोड १० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।