निर्धारित समय अनुसार प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारीसमेत गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकिसकेको अवस्था छ तर अझै पनि राजनीतिक दलहरू भने निर्धारित समयमा निर्वाचन हुने विषयमा शंका उपशंका व्यक्त गरिरहेका छन् ।
उनीहरुले विषय गरेर सरकारले सुरक्षा दिन नसक्ने भएका कारण निर्वाचन निर्धारित समयमा हुन नसक्ने जनाउँदै आएका छन् । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हातहतियार फर्काउन सरकार असफल भएका कारण सुरक्षित वातावरणमा तोकिएको समयमा निर्वाचन हुने विषयमा यतिबेला विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शंका उपशंका व्यक्त गर्दै आइरहेका छन् ।
विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु नै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुने विषयमा शंका उपशंका व्यक्त गरिनुले निर्धारित समयमा चुनाव हुन्छ वा हुँदैन भन्ने संशय पैदा गरिरहेको छ ।
शनिबार नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समयमा निर्वाचन हुने विषयमा शंका व्यक्त गरेका छन् । उनले सरकारले सुरक्षाको अनुभूति गराउन नसकेको अवस्थामा निर्वाचन हुन नसक्ने जिकिर गरेका हुन् । उनी अझै पनि प्रतिनिसभा पुनर्स्थापनाकाे विषयलाई सशक्त ढंगबाट सबै राजनीतिक दलहरूले उठाउनुपर्ने विषयमा जाेड दिइरहेका छन् । साेही क्रममा ओलीले वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेभन्दा पनि पूर्वाग्रह र संविधान विपरीतका काममा लागेको आरोपसमेत लगाएका थिए ।
यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन भन्ने अवस्थामा पुगेको बताएका थिए । उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरू सबै हुँदा पनि राज्य विहीन जस्तो अवस्थामा रहेको प्रतिक्रिया दिएका हुन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले पनि सरकारको गतिविधिहरू हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा शंका उत्पन्न भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्न बिहीबार डोटी पुगेका नेता रावलले सरकारले चुनावको वातावरण बनाउने भन्दा अरू कुरामै बरालिएको आरोप लगाएका थिए ।
उनले भने,‘लुटिएका हजारौँ गोलीगट्ठाहरु, घातक हतियारहरू अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन, कयौँ कैदी वन्दीहरू अहिले पनि फरार छन् । शान्ति सुरक्षाको स्थिति हेर्दा यो सरकारले जसरी त्यसलाई केलाएर हेर्नु पर्ने हो, त्यो गरिरहेको देखिँदैन ।’
यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि निर्धारित समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने प्रतिक्रिया दिँदै निर्धारित समयमा चुनाव हुन नसक्ने जनाएका हुन् ।
जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन वैशाखमा गर्नुपरे पनि त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिरहेका बेला शीर्ष राजनीतिक दलहरूले २१ फागुनमा निर्वाचन नहुने आशंका व्यक्त गर्दा आम नागरिक अहिले पनि अन्योलमा पर्नुपर्ने अवस्था देखिन्छ । सबै राजनीतिक दलहरूले निर्वाचनमा जान दल दर्ता गराए पनि विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चुनाव हुने विषयमा आशंका व्यक्त गर्दा आम सर्वसाधारणको पनि अन्योलमा पर्ने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।