नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
आत्मआलोचना र प्रतिवेदनका नाममा आफूविरुद्ध प्रहार गरिएको आरोप लगाउँदै ओलीले बैठकमा कटाक्ष गरेका हुन् । ‘आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडिएको छ,’ भन्दै ओलीले तत्कालीन प्रधानमन्त्रीको रूपमा आफूलाई कारबाही गर्नुपर्छ भन्ने माग गरिएकोप्रति आक्रोश प्रकट गरेको बैठकमा सहभागी एक नेताले बताए।
ओलीले विपक्षी दल र मिडियाले समेत भन्न नसकेको विषय आफ्नै पार्टीका नेताहरूले दस्ताबेजमा समेटेको भन्दै असन्तुष्टि जनाए। ‘मलाई कारबाही गर्नुपर्छ भनेर माग गर्ने ?’ भन्दै उनले प्रश्न गरेका थिए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघि सार्वजनिक रूपमा जेनजी आन्दोलनपछि गठन भएको छानबिन समितिमा ओलीले बयान दिनुपर्ने धारणा राख्दै आएका छन् । कोही दोषी देखिए कारबाहीको भागीदार हुनुपर्ने उनको भनाइ रहँदै आएको छ।
आन्तरिक तनावका बीच पनि ओलीले आफूलाई ‘भाग्यमानी नेता’को रूपमा चित्रण गर्न भ्याए । ‘म भाग्यमानी लिडर हुँ। नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको छु,’ उनले बैठकमा भनेको ती नेताले जानकारी दिए।
बन्द सत्र सञ्चालनका लागि गठन हुने अध्यक्षमण्डलको अध्यक्षता पार्टी अध्यक्ष स्वयंले गर्ने जानकारी पनि उनले दिए।
यसैबीच, एमालेको ११औँ महाधिवेशनको बन्द सत्र दोस्रो पटक सारिएको छ। बिहान ७:३० बजेदेखि सुरु हुने भनिएको बन्द सत्र केन्द्रीय समिति बैठकका कारण पहिले मध्यान्ह १२:१५ र पछि पुनः दिउँसो १ बजेका लागि सारिएको हो।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा हुँदैछ। त्यसको तयारीस्वरूप केन्द्रीय समिति बैठक बसेको हो।
महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने पक्का देखिएको छ। ओली सर्वसम्मतिबाट दोहोरिन चाहिरहेका छन् भने पोखरेलले कडा टक्कर दिने सङ्केत गरेका छन्। यही सन्दर्भमा दुवै नेताबीचको राजनीतिक घोचपेच सतहमा देखिन थालेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।