७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

विरोधकाबीच एमालेले पुरानै विधान ब्यूँतायो, ओलीलाई सहज हुने गरी पदाधिकारी थपियो

नेकपा एमालेले आन्तरिक विरोधका बीच गत भदौमा भएको विधान महाधिवेशनका निर्णय उल्ट्याउँदै पुरानै विधानअनुसार अघि बढ्ने निर्णय गरेको छ । भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीको आकार पुनः बढाउने निर्णय गरेको हो ।

बैठकले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिव रहने व्यवस्था गर्ने निर्णय गरेको छ । यससँगै ९९ सदस्यीय पोलिटब्युरो, ४५ सदस्यीय स्थायी कमिटी र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरिएको हो । 



गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको सङ्ख्या १५ कायम गर्दै स्थायी कमिटी नराख्ने तथा केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो। तर उक्त निर्णय उल्ट्याउँदै एमालेले पुरानै संरचना ब्युँताएको हो । 

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी थप्नुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको संरचनाबारे प्रस्ताव अघि सारेका थिए। तर बैठकमा अध्यक्ष वा पदाधिकारीबाट औपचारिक रूपमा विधान संशोधन प्रस्ताव नआएको नेताहरूले बताएका छन्। ओली पक्षका पोलिटब्युरो तथा स्थायी कमिटीका नेताहरूले फ्लोरबाट पुरानै विधानअनुसार अघि बढ्ने प्रस्ताव ल्याएका हुन्।



निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत उनी पक्षका नेताहरूले कडा आपत्ति जनाएका छन् । पोखरेलले बदलिएको परिस्थितिले सङ्ख्या बढाउन नभई पार्टीलाई रूपान्तरण गर्न सन्देश दिएको बताएका छन् । दुई कार्यकालको सीमाबारे छलफल नै नगरी संरचना मात्रै बढाउने प्रयासले पार्टीलाई गलत दिशातर्फ लैजान सक्ने चेतावनी पनि उनले दिएका छन् । 

विरोधका बीच पुरानै विधान कायम गर्दै एमाले ११औँ महाधिवेशनमा जाने निर्णयसँगै पार्टीभित्रको आन्तरिक मतभेद अझ स्पष्ट रूपमा सतहमा आएको छ । अध्यक्षमा ओली र पोखरेल भिड्दै छन् । ओलीले आफूलाई सहजहुनेगरि पदाधिकारी थप गर्ने निर्णय गरेको भन्दै अहिले एमालेभित्रै आलोचना भइरहेको छ ।  



  • प्रकाशित मिति : २८ मंसिर, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया