एजेन्सी– इंग्ल्यान्डमा जारी विश्वकपमा १६ जुनमा म्यानचेस्टरको ओल्ड ट्राफोडमा मैदानमा भारत र पाकिस्तानबीच रोमान्चक खेल भएको थियो । अब यही विश्वकपमा यी दुई देश फेरि एकपटक खेल्न सक्ने सम्भावना छ । त्यो हो, सेमिफाइनलमा ।
तर, यो सहजै हुनसक्ने अवस्था चाहिँ छैन । अंकतालिकामा सबै टिमहरुको अंक र समीकरणमा यो निर्धारण हुँदैछ । यो विश्वकपमा सेमिफाइनलमा अंक तालिकामा पहिलो स्थानमा रहेको र चौथो स्थानमा रहेको टिमबीच एक पटक खेल हुँदैछ ।
यदि भारतीय टिम अंक तालिकाको शीर्ष स्थानमा पुग्यो र पाकिस्तानी टिम चौथों स्थानमा रह्यो भने यो खेल हुनसक्ने सम्भावना बढेको हो । यस्तो भएमा यी दुई चीरप्रतिद्वन्द्वीबीचको खेल एकपटक फेरि ९ जुलाईमा हेर्न पाइनेछ ।
अहिले अंकतालिकामा भारत बलियो अवस्थामा छ । उसले पाँच खेल खेलेर ९ अंक जोडेको छ र तेस्रो स्थानमा छ । अझै उसले चार खेल खेल्न बाँकी छ । उता, पाकिस्तान चाहिँ ६ खेलमा दुई जित हासिल गर्दै ५ अंकका साथ सातौँ स्थानमा छ । अब उसले खेल्न बाँकी तीनै खेल जितेमा सेमिफाइनलमा स्थान बनाउने छ । पाकिस्तानले अब न्युजिल्यान्ड, अफगानिस्तान तथा बंगलादेशसँग खेल्न बाँकी छ ।
अर्कोतिर भारतले अब चार खेल खेल्न बाँकी छ । वेस्ट इन्डिज, बंगलादेश, इंग्ल्यान्ड र श्रीलंकासँग उसले खेल खेल्न बाँकी छ । यी चारै खेल जितेमा भारत अंक तालिकामा एक नम्बरमा पुग्नेछ ।
तर, पाकिस्तानी टिमलाई अर्को राउन्ड अर्थात् सेमिफाइनलमा पुग्न त्यति बेला मात्र सम्भव हुनेछ जब उसले न्युजिल्यान्ड, अफगानिस्तान तथा बंगलादेशविरुद्ध खेल्न बाँकी सबै खेल जित्नेछ । यतिले मात्र पनि पाकिस्तान सेमिफाइनलमा पुग्दैन । इंग्ल्यान्ड, बंगलादेश तथा श्रीलंका र वेस्टइन्डिजले पनि अबका दुई खेल हारे भने अंक तालिकामा उनीहरु पाकिस्तानभन्दा पछाडि पर्नेछन् ।
जे होस्, क्रिकेट एउटा अनिश्चितताको खेल हो । यो समीकरण बनेको खण्डमा फेरि भारत र पाकिस्तानको खेल हुनसक्छ । तर, यो केवल सम्भावना मात्र हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।