के मूलधारको राजनीतिमा आउलान् विप्लव ?

काठमाडौं– मंगलबार भरतपुर महानगरको चौथौं अधिवेशनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले लामै समय पहिलेका उनका ‘सहयात्री’ नेत्रविक्रम चन्द ‘विप्लव’ खर्चिए । 

प्रचण्डले अहिले सरकारले प्रतिबन्ध लगाएको विप्लवको पार्टी र विप्लव स्वयंलाई पनि सम्झिएको यो पहिलो पटक होइन । यसअघि २८ फागुनमा सरकारले विप्लव समूहलाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएपछि पनि प्रचण्डले विप्लवबारे खुलेर कुरा गरेका थिए । त्यति बेला उनले विप्लव समूहले आफूलगायत केही नेताको हत्या गर्ने योजना प्रहरीले भेटेको र त्यो प्रतिबन्ध लगाउनु परेको अभिव्यक्ति दिए ।

तर, उनी निकट नेताहरु नै सरकारको यो निर्णयबाट खुसी थिएनन् । ‘खासमा प्रतिबन्ध लगाउनु हुँदैनथ्यो,’ उनीनिकट एक नेताले भने, ‘विप्लवमाथि प्रतिबन्ध लगाएपछि पार्टी र हाम्रो समूहमा देखिएको मतभेद कम गर्नका लागि अहिले अध्यक्ष प्रचण्डले उनीमाथि सहानुभूतिका शब्द खर्चिएका हुन् ।’

मंगलबार प्रचण्डले भाषणमा आफूले विप्लव मूलधारको राजनीतिमा आउने संकेत आफूले पाएको पनि बताएका थिए । 

के साँच्चिकै विप्लव मूलधारको राजनीतिमा आउलान् त ? प्रचण्डले किन र के यस्तो संकेत पाए ? 

पछिल्लो समय अलग मधेशको माग राख्दै अभियान चलाइरहेका डा. सिके राउत मूलधारको राजनीतिमा आएपछि विप्लव र अन्य भूमिगत समूहहरुलाई पनि मूलधारको राजनीतिमा ल्याउने प्रयास सरकारले गरेको देखिन्छ । 



तर, विप्लव अहिले तत्काल मूलधारको राजनीतिमा आउने सम्भावना न्युन भएको अर्का नेकपा नेता बताउँछन् । ती नेताले प्रचण्डको यो अभिव्यक्तिलाई ‘आफ्ना कार्यकर्ता रिझाउने टेक्निक’को पनि संज्ञा दिए । 

‘अहिले कार्यकर्तामा ठूलो विचलन आएको छ,’ उनले भने, ‘विशेषगरि पूर्वमाओवादीहरु प्रचण्डले गरेका कुनै पनि निर्णयहरुबाट सन्तुष्ट छैनन् । उनीहरु असन्तुष्ट भएकाले नै पनि प्रचण्ड उनीहरुलाई फकाउने मेलोमा लागेका छन् । त्यही भएर उनले यो विप्लवसँग आफू नजिक भएको र उनलाई पनि पार्टीमा नै ल्याउने तुरुप फालेका हुन् ।’



ती नेताले विप्लव समूहलाई के गर्ने भन्नेबारे पार्टीमा र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डको कुनै छलफल नभएको पनि दाबी गरे । 

त्यसो त पछिल्ला गतिविधि हेर्दा सरकार विप्लव समूहलाई ‘पेलेर जाने’ मनस्थितिमा देखिएको पनि ती नेताको अनुमान छ । उनले भने, ‘एक हदसम्म पेलेर जाउँ भन्ने हुनसक्छ । तर, खुला राजनीतिमा आउने हो भने त सबैलाई स्वागत नै गरिन्छ नि ।’

पछिल्लो समय सरकारले अझ कडा कदमहरु चाल्न थालेपछि विप्लव स्वतः खुला राजनीतिमा आउन चाहिरहेको विश्लेषण पनि नेकपाभित्र हुन थालेको छ । तर, विप्लवको समूहले निकालेका विज्ञप्तिहरुले यस्तो संकेत गर्दैन । विप्लव नेतृत्वले समयसमयमा निकालेका विज्ञप्तिहरुमा सरकारको मात्र नभएर नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीको कडा शब्दमा विरोध गरिएको हुन्छ । 

फेरि विप्लव समूहले आफ्नो पक्षमा जनाधार बढिरहेको मूल्यांकन गरेको छ । पार्टीले प्रहरी र सेनामाथि आक्रमण गर्ने कुनै नीति नलिएको बताउने विप्लव समूह तत्काल मूलधारको राजनीतिमा आउने सम्भावना चाहिँ देखिँदैन ।

  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार ११:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया