Tue, 24 Sep, 2019


#farakक्षमता
#farakक्षमता: ‘मसँग खुट्टा पो छैनन्, आत्मविश्वास त छ नि’
फरकधार / असार १२, २०७६

बडादशमीको अष्टमीको दिन थियो । दशैंको माहोलले सबैलाई छपक्कै छोपेको थियो । भैरहवामा सागरको घर पनि अपवाद थिएन । सागर ११ वर्षका मात्र थिए । 



विहान घरमा परिवारसँग रमाइलो गरेर सागर दिउँसो टोलभरका दामलीहरुसँग खेल्न निस्किए । स्कुल बिदाको समय, दशैंको माहोल र साथीहरुसँग घुम्न पाउँदा सागरको मन पनि निकै रमाइरहेको थियो । 

तर, त्यो दिन त्यो रमाइलो लामो समय रहेन । ‘म र मेरा केही साथीहरु बाटोमा हिँड्दै थियौँ,’ सागर सम्झिन्छन्, ‘म एक्कासी ढलेँ ।’

केही दिनअघि हात्तिवनस्थित लिटल एन्जेल्स स्कुलको परिसरमा भेटिएका सागर पाण्डे फेरि आफू ११ वर्षको हुँदाको त्यो दशैंमा फर्किए । ‘म लडेको त्यो ठाउँ नजिकै हाइ भोल्टेज करेन्ट लैजान पोल राखिएको थियो,’ पछि सागरले थाहा पाए, ‘त्यो पोलमा राखिएको इन्सुलेटर फुटेको रहेछ, पोलबाट करेन्ट भुइँमा आइरहेको रहेछ, त्यही करेन्ट मलाई लागेछ ।’

सागरलाई तत्काल उपचारका लागि सीमापारि रहेको एक अस्पतालमा पुर्याइयो । तर, त्यहाँ उपचार सम्भव भएन । त्यहाँका चिकित्सकले त उनलाई तत्काल बुटवल वा ठूलो अरु कुनै अस्पताल लैजान भने । चिकित्सककै रायअनुसार उनलाई बुटवल लगियो । तर, बुटवलमा पनि सागरको उपचार हुने भएन । त्यहाँबाट उनको काठमाडौं रिफर भयो । 

सागरको होस त पहिले नै गुमिसकेको थियो । उनका बाबु भने छोरालाई केही हुँदैन भन्ने आशमा थिए । ‘बुबाले मलाई टिचिङ अस्पताल ल्याउनु भएको थियो,’ सागरले सम्झिए, ‘त्यहाँ उपचार हुने आश पाल्नु भएको थियो ।’

तर, ल्याउनेवित्तिकै चिकित्सकको कठोर निर्णय सुन्न पर्यो सागरका बाबुले । चिकित्सकले भने– उपचार सम्भव छैन, बिरामीलाई घर लैजानू ।

सागरका बाबुसँगै गाउँका अरु दुई चार जना पनि आएका थिए । चिकित्सकको यो रवैया उनीहरुलाई मन परेन । टिचिङ अस्पतालमा केही बेर होहल्ला भयो । लामो समय होहल्ला भएपछि चिकित्सकहरु सागरको उपचार गर्न तयार भए । त्यसपछि सागरको गुमेको होस फेरि फर्कियो ।

‘त्यहाँबाट मलाई कान्ति बाल अस्पताल लगियो,’ सागर सम्झिन्छन्, ‘त्यहाँ १७ दिन बसेर उपचार गरियो ।’

सागरको स्वास्थ्य विस्तारै सुध्रँदै थियो । सागरका बाबु आशावादी भइसकेका थिए । तर, अचानक चिकित्सकहरुले एउटा कठोर कुरा भने, जसलाई सागरको परिवारले सुन्न सकेन । सुनिसकेपछि पत्याउन सकेन । चिकित्सकहरुको त्यो कुरा थियो– सागरका दुवै खुट्टा र एउटा हात काट्नु पर्छ । 

हुर्कँदो उमेरको छोराको खुट्टा र हात दुवै काट्नु पर्ने सुन्दा पहिले सागरका बाबुले पत्याउनै सकेनन् । तर, यो बाध्यता थियो, सागरको खुट्टा काटिने नै भयो । त्यसका लागि उनलाई फेरि वीर अस्पताल पठाइयो । तर, वीरमा पनि चिकित्सकहरुले सुरुमै सागरको अपरेसन गर्न मानेनन् । 

‘त्यहाँबाट मलाई जोरपाटी लगियो,’ सागर त्यो दिन सम्झिँदा नरमाइलो मान्छन्, ‘त्यहाँबाट साँखु, फेरि जोरपाटी र अन्तिममा फेरि हामी वीरमा नै फर्कियौँ ।’

अनि त्यहाँ नै सागरको अपरेसन भयो । तर, उनको परिवारले छोराको हात काट्न चाहिँ दिएन । ‘डाक्टरले त काट्नु पर्छ भनेका थिए,’ सागरले आफ्ना दुवै हात उचाले अनि भने, ‘अहिले मेरा दुवै हात ठिक छन्, कस्सो बुबा र अरु अंकलहरुले जोगाइदिनु भयो ।’

अनि मुसुक्क हाँसे सागर । 

त्यति बेला त दुवै खुट्टा काट्नु पर्ने भएपछि सागरमात्र होइन, परिवारका कसैको पनि आँखा ओभाएका थिएनन् । 

सागरका दुई खुट्टा मात्र गुमेका थिएनन् । उनको सपना पनि गुमेको थियो । आशा निराशामा बदलिएको थियो । कतिसम्म भयो भने उनी अब स्कुल जान पनि नसक्ने भए । उनी पढिरहेको स्कुल उनको घरबाट दुई किलोमिटर जस्तो टाढा थियो । अब दुवै खुट्टा नभएपछि कसरी जाने ?

सागरले स्कुल जाने सपनालाई भुल्न थाले । 

‘अब के होला भन्ने मात्र मेरो दिमागमा चल्थ्यो,’ उनले भने, ‘जतिबेला जे भए पनि मेरो घरभन्दा परको संसार हराइगयो । जे गरे पनि घरमै बसिरहेँ म ।’

तर, यहीबीच उनको घर नजिकैको अर्को स्कुलले प्रस्ताव गर्यो, उनलाई निःशुल्क पढाइदिने । 

‘मलाई डाक्टर बनेर अब बिरामीको सेवा गर्नुपर्छ भन्ने भावना आएको थियो,’ सागरले सम्झिए, ‘आफूले उपचार गर्दा झन्झट व्यहोरेको थिएँ, पढेर राम्रो गर्छु भन्ने भावना विकास भयो ।’

उनको मेहनेतको प्रतिफल राम्रै आयो । उनले एसएलसीमा ८५ प्रतिशत ल्याए । 

त्यसपछि परिवारमा अर्को आशा जन्मियो– सागरले पक्कै केही गर्नेछन् । उनलाई काठमाडौं आएर पढ्ने मन भइसकेको थियो । उनको बुबा उनका सर्टिफिकेट लिएर काठमाडौं आए । ‘कलेजहरुले मार्कसिट हेर्दा मलाई भर्ना गर्ने भनिहाल्थे,’ सागर सम्झिन्छिन्, ‘अनि म ह्विलचेयर प्रयोग गर्छु भन्ने थाहा पाएपछि उनीहरु मलाई भर्ना लिन मान्थेनन्– आफ्नो कलेज ह्विलचेयरमैत्री नभएको बताउँथे ।’

कलेजहरु घुमेर निराश भएर कोठामा फर्किँदै थिए सागरका बाबु र छोरा । बाटोमा एकजनाले लामो कुराकानी गरे । उनीहरुले आफ्नो पीडा पोखे । छुट्टिने बेलामा ती व्यक्तिले फोटो खिचे । उनी पत्रकार रहेछन्, सागरको समाचार भोलिपल्ट पत्रिकामा छापियो । 

‘त्यसपछि त कलेजहरुले नै बोलाउन थाले,’ सागरले सम्झिए, ‘मैले चाहिँ एलए छानेँ ।’ सागरका लागि खुसीको कुरा के भने उनले यो कलेजमा पढ्न छाडेपछि कलेजले उनकै लागि भनेर पनि कलेजलाई विस्तारै अपाङ्गमैत्री पनि बनाउँदै लगेको छ ।

आफ्नो उपचारमा समस्या भएपछि डाक्टर बन्छु भन्ने लक्ष्य बनाएका थिए सागरले । त्यसैले उनले पढाइमा कुनै कम्प्रोमाइज गरेनन् । ‘साथीहरुले पनि मलाई किनै सहयोग गर्नुभएको छ,’ उनले भने । प्लस टुमा विज्ञान विषय लिएर पढेका सागरले ७५ प्रतिशत ल्याए । 

त्यसपछि उनी डाक्टर बन्ने लाइनमा लागे । कलेजहरुमा बुझ्न थाले । तर, कुनै पनि कलेज अपाङ्गमैत्री थिएनन्, उनलाई कलेजहरुमा कक्षाकोठासम्म नै पुग्न समस्या पर्ने देखियो । एकदुई वटा कलेजले आश्वासन पनि देखाए । ‘तर, भर्ना भएकै कलेजमा पनि राम्रोसँग पढ्न सकिएन, होस्टलबाट कक्षाकोठासम्म पुग्न पनि निकै कठिनाइ हुने भयो,’ सागरले भने, ‘त्यसपछि मैले एमबिबिएस पढ्ने कुरा छोडिदिएँ, आएर एलएमा नै आइटी पढ्न थालेँ ।’ अहिले त सागर आइटीको अन्तिम सेमेस्टरमा पुगिसकेका छन् ।

पढाइमा त अब्बल छँदै छन् सागर, उनी खेलकुदमा पनि उत्तिकै रुची राख्छन् । ‘खुट्टा गुमाउनुभन्दा पहिले पनि मलाई निकै रुचि थियो, क्रिकेटमा,’ उनले भने, ‘अहिले त मैले फेरि खेल्न थालेको छु, बीचमा लामो समय खेल्न पाइनँ ।’ अहिले सागर ह्विलचेयर क्रिकेट टिममा परेका छन् । उनले एसिया कप टि–ट्वान्टी पनि खेले । 

क्रिकेटसँगै सागर बास्केटबल पनि राम्रो खेल्छन् । विस्तारै खेलहरुसँगको सामिप्यताले सागरलाई फिटनेस फ्रिक पनि बनाउँदै लगेको छ । उनी दैनिक अभ्यास गर्छन् । ‘वेट लिफ्टिङ पनि गर्छु,’ उनले भने । 

सागरले करेन्ट लागेकाले सानै उमेरमा आफ्ना दुई खुट्टा त गुमाए तर उनले आफ्नो आत्मविश्वास गुमाएका छैनन् । त्यसैले त उनी भन्छन्, ‘मलाई त बरु अरु साथीहरुको जस्तै काम गर्न मन छ, साहसिक खेलहरुमा सहभागि हुन मन छ, बन्जी हान्न मन छ ।’

अनि सागर नेपालका भौगोलिक रुपमा विकट भएका ठाउँहरु प्नि जान चाहन्छन् । ‘मलाई सगरमाथाको आधार शिविरसम्म जान मन छ,’ उनले भने, ‘गोसाइकुन्ड, रारा तालसम्म पुग्न मन छ ।’

अनि उनको अनुहारमा मुस्कान छ र उनी विश्वस्त छन्, ‘अहिले त नयाँनयाँ प्रविधिको विकास भइरहेको छ, भोलि आर्टिफिसियल खुट्टा भयो भने त म पनि अरुजस्तै हिँड्न सक्छु ।’

सागरसँग जीवनमा केही गर्नुपर्छ भन्ने सपना छ, दुई खुट्टा गुमेकाले नै उनले त्यो सपनालाई तिलान्जली दिन चाहँदैनन् । उनी त बरु कम्मर कसेर त्यो यात्रामा लागिसकेका छन् ।

‘मसँग खुट्टा पो छैन, आत्मविश्वास र केही गर्नुपर्छ भन्ने चाहना त छ नि,’ सागरले भने ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्