‘बोर फिल’ गरिरहेका छन् डोनाल्ड ट्रम्प

काठमाडौं– अहिले विश्व बढो तनावमा छ । इरानसँग अमेरिकाको बढ्दो तनाव, चीनसँग अमेरिकाको बढ्दो तनाव, उत्तर कोरियासँग अमेरिकाको हुनै लागेको वार्ता बिथलिनुलगायतका विषयले यी तनावको केन्द्रमा अमेरिका छ । 

अमेरिकाले जसरी युरोपेली देशहरुलाई आफ्नो अडानमा समर्थन गर्न दबाब दिइरहेको छ, त्यसले पनि विश्वमा अस्थिरता बढिरहेको छ । यी सबको प्रभाव नेपालमा प्रत्यक्ष देखिएको छैन तर छिमेकी मुलुक भारतमा चाहिँ यसको प्रभाव देखिन थालिसकेको छ । 

यतिमात्र होइन, अमेरिका भित्रै पनि डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अनेक विषयहरु सतहमा आएका छन् । उनलाई निर्वाचित गराउन रुसको भूमिका रहेको विषयमा अहिले पनि त्यहाँ निकै ठूलो बहस भइरहेको छ । 

अर्को तनाव ट्रम्पले मेक्सिकोसँगको आफ्नो सम्बन्ध, भेनेजुएलाको आन्तरिक राजनीतिलाई निकै समस्यामा धकेलिदिनुलगायतका विषयमा पनि बढेका छन् । 

नेपालबाट अमेरिका गएर बसेका नेपालीहरुलाई पनि ट्रम्पले ल्याउने उद्घोष गरिरहेका नीतिले बारम्बार तनाव दिइरहेका छन् । उनी आप्रवासीलाई देशबाट निकालिदिने धम्की दिइरहेका छन् । नेपालीहरु अमेरिका पुग्ने सबैभन्दा सहज तरिका डिभी चिठ्ठालाई मानिएको छ । यसलाई पनि बन्द गर्ने ट्रम्प प्रशासनको नीति रहेको छ । 

यी सब हुँदाहुँदै पछिल्लो समय अमेरिका भिसा आवेदनका लागि सामाजिक सन्जालको प्रोफाइल पनि प्रस्तुत गर्नु पर्ने भएको छ । यसले पनि अमेरिका जान चाहनेहरुका लागि एक किसिमको समस्या उत्पन्न गराएको मान्नेहरु धेरै छन् । 



यो सब हुँदा स्वयं ट्रम्पलाई चाहिँ कस्तो लागेको होला ? के उनी पनि तनावमा होलान् ? 

यसको जवाफ त उनले प्रयोग गर्ने सामाजिक सन्जालहरुले नै पनि दिन सक्छन् । जी २० सम्मेलनमा भाग लिँदा चीन, रुसका राष्ट्रपतिहरुलाई ट्रम्प भेट्दै छन् । त्यसैले यो विषयमा उनले सामाजिक सन्जालमा लेख्दा हुन् भन्ने धेरैले अपेक्षा गरेका हुन्छन् । 



तर, ट्रम्प त यी सब कुरा छाडेर आफ्नो भावना माइक्रो ब्लगिङ साइट ट्विटरमा पोखिरहेका छन् । र, उनले पोखेको यो विषय हो– उनलाई बोर लागेको छ । 

उनले ट्विटरमा एउटा शब्दमात्र लेखेका छन्– बोरिङ ।

त्यसो त ट्रम्पले ट्विटरमा लेखेका अभिव्यक्ति विश्वलाई हल्लाउने सामथ्र्य राख्ने समाचारहरु पनि हुन् । यसपटक ट्रम्पको यो अभिव्यक्तिले पनि दुनियाँलाई आश्चर्यमा पारेको छ । आखिर किन बोरिङ लागिरहेको छ त ट्रम्पलाई ? 

सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा पनि आफू उम्मेदवार बन्ने घोषणा गरिसकेका ट्रम्पले अमेरिकामा चुनावी अभियान सुरु गरिसकेका छन् । तर, पहिलो कार्यकालको अन्तिममा आइपुग्दा ट्रम्पले किन बोर महसुस गरे त ? यसबारे चाहिँ उनले केही बताएका छैनन् ।
 

  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार ०:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया