तनहुँ– तनहुँको व्यास नगरपालिकाभित्र बसोवास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुईवटा बिरुवा अनिवार्य रोप्नुपर्ने भएको छ । नगरपालिकाले हरियाली नगर बनाउने उद्देश्यका साथ घर निर्माणसम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुईवटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो ।
नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । ‘नगरभित्र निर्माण हुने घरधनीहरुले अनिवार्य रुपमा बिरुवा रोप्नुपर्नेछ,’ उनले भनिन्, ‘अन्यथा घर निर्माणसम्पन्नको प्रमाणपत्र जारी हुँदैन ।’
नगरपालिकाका सबै वडामा रहेका सडकको वर्गीकरण गरी सडक किनारामा हरियाली प्रवर्द्धनका लागि वृक्षरोपण गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने जोशीले बताए । ‘यस कार्यमा नगरको सुन्दरताका लागि एकरुपता कायम गर्ने गरी नगरपालिकाबाट बोटबिरुवा उपलब्ध गराइनेछ,’ जोशीले भनिन्, ‘त्यस्ता बोटबिरुवाको उत्पादन जग्गाधनीले नै उपयोग गर्ने गरी संरक्षण गर्नुपर्नेछ ।’
नगरपालिकाले फूलैफूलको नगर बनाउने नीति लिएको छ । नगरको सुन्दरताका लागि सडक किनारा र पार्क तथा खुल्ला स्थानको प्राकृतिक सुन्दरता एवं वातावरणीय स्वच्छता कायम गर्न बहुउद्देश्यीय नर्सरी स्थापना गर्ने नीति नगरपालिकाले पारित गरेको छ ।
नगरपालिकाभित्र परम्परागत चौतारा र पोखरी संरक्षणलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख जोशीले बताइन् । जोशीका अनुसार व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउन टोल विकास संस्थासँगको सहकार्य अघि बढाइने र वैकल्पिक झोला तयारी गर्नका लागि सहयोग प्रदान गरिनेछ ।
फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याई प्रांगरिक खेती प्रणालीसँग आबद्ध गरी अभियानका रुपमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।