काठमाडौं– ‘विमानस्थल संकटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घन्टा बन्द हुने भएको छ ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । संकटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घन्टा बन्द गरिने भएको हो ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको जानकारीअनुसार पहिलोपटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो ।अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान-अवतरण आधा घन्टा बन्द गरिनेछ । विमानस्थल व्यवस्थापनले सूचना प्रकाशित गरी त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द हुने जनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा संकटकालीन योजनाको अभ्यास ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले अभ्यास गर्न लागेको हो ।
बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ ।
यो अभ्यासका क्रममा विमानस्थल वरिपरि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ । साथै एअरपोर्टको आकाशमा धुवाँ देखिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।