आफ्ना नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएकोमा अमेरिकाको आपत्ति

काठमाडौं– नेपाल सरकारले आफ्ना नागरिकमाथि गरेको व्यवहारबाट आफूहरू मर्माहत भएको अमेरिकी राजदूतावासले जनाएको छ । शनिबार अमेरिकी नागरिक पेम्पा छिरिङ नेपाल आउँदा उनलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको घटनाप्रति दूतावासले आपत्ति जनाएको हो । 

छिरिङ नेपाल आउन लागेको थाहा पाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले उनलाई नेपाल प्रवेशमा रोक लगाउन आग्रह गरेको थियो । छिरिङ भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाको सरकारका सभामुख भएको चीनको दाबी थियो । 

नेपालस्थित चिनियाँ दूतावासको आग्रहअनुसार अध्यागमन कार्यालयले पेम्पालाई पक्रेको हो । नेपाल एक चीन नीतिमा प्रतिबद्ध भएकाले अध्यागमन कार्यालयले दलाई लामानिकट छिरिङलाई कालो सूचीमा राखेको थियो । 

तर, शनिबार नेपाल आउन लागेका छिरिङ दलाई लामा सरकारका सभामुख थिएनन् । उनी अमेरिकी नागरिक थिए । नाम र उमेर मिलेका आधारमा अध्यागमनका अधिकारीले छिरिङलाई नियन्त्रणमा लिएर केही घन्टाको सोधपुछपछि अमेरिका फिर्ता पठाइदिएका थिए ।

अमेरिकी दूतावासले सो घटनाप्रति गम्भीर चासो देखाउँदै घटनाबाट मर्माहत भएको जनाएको हो । अमेरिकी राजदूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्– विदेशी सरकारको अनुरोधअनुसार नेपाल आउन चाहने अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइदिएको घटनाले दूतावास मर्माहत भएको छ ।

यस घटनाबारे दूतावासले नेपाल सरकारसँग प्रष्टीकरण मागेको छ । प्रवक्ता आर्मेन्टले प्रश्न गरिन्, ‘के नेपाल आउन चाहने अमेरिकी नागरिकले कुनै विदेशी सरकारबाट स्वीकृति लिनुपर्ने हो ?’





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १७:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया