२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

भेनेजुएलाका राष्ट्रपति मादुरोका छोराले खोजे अन्तर्राष्ट्रिय ऐक्यबद्धता

भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस मादुरो गुएराले बुबा–आमाको भेनेजुएला फिर्ती सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धताको आह्वान गरेका छन् ।

अमेरिकाले आफ्ना बुबा निकोलस मादुरो र आमा सिलिया फ्लोरेसलाई पक्राउ गरेको घटनालाई उनले ‘अपहरण’ को संज्ञा दिएका छन् । सोमबार भेनेजुएलाको राष्ट्रिय सभामा सम्बोधन गर्दै मादुरो गुएराले दुई दिनअघि क्याराकासमा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीमार्फत मादुरो दम्पतीलाई पक्राउ गर्नु भेनेजुएलाको सार्वभौमिकतामाथि गम्भीर आक्रमण भएको बताए ।



उनले यस्तो अभ्यास सामान्यीकृत भए कुनै पनि देश सुरक्षित नरहने चेतावनीसमेत दिए । ‘यदि राष्ट्रप्रमुखको अपहरणलाई सामान्य मान्न थालियो भने कुनै पनि देश सुरक्षित रहँदैन । आज भेनेजुएला, भोलि आदेश नमान्ने जुनसुकै देश हुन सक्छ,’ उनले भने ।

साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई मौन नबस्न आग्रह गर्दै यसलाई वैकल्पिक राजनीतिक मुद्दा नभई नैतिक र कानुनी दायित्वको विषय भएको बताए । मादुरो गुएराले आफ्ना बुबा, आमा तथा आफूविरुद्ध अमेरिकी अभियोगपत्रमा लगाइएका लागूऔषध तस्करी र हतियारसम्बन्धी आरोपहरू अस्वीकार गर्दै आफ्नो परिवार राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गरे ।



यसैबीच, अपदस्थ राष्ट्रपति निकोलस मादुरो सोमबार न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित भई आफू निर्दोष रहेको बताएका छन् । अदालतमा बोल्दै उनले क्याराकासस्थित आफ्नै निवासबाट पक्राउ गरिएको भन्दै आफ्नो गिरफ्तारी अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरे ।

उनका कानुनी सल्लाहकारहरूले यसलाई ‘सैन्य अपहरण’ भन्दै अमेरिकी अदालतको क्षेत्राधिकार नै चुनौती दिने तयारी गरेको जनाएका छन् । यसअघि पानामाका पूर्व नेता म्यानुअल नोरेगाले पनि अमेरिकाले विदेशी भूमिमा पक्राउ गर्नु गैरकानुनी भएको दाबी गरेका थिए । तर त्यतिबेला अमेरिकी अदालतले गिरफ्तारीको वैधता भन्दा अभियोगमै केन्द्रित रहेको उदाहरण रहेको सीएनएनले स्मरण गराएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरीकाले भेनेजुएलामा अन्तरिम सरकार स्थापना गर्ने दिशामा काम गरिरहेको छ । विदेशमन्त्री मार्को रुबियोले नीति निर्माण र दबाब कायम राख्ने रणनीति प्राथमिकतामा रहेको बताएका छन् । अमेरिकाले मादुरोविरुद्ध लागूऔषध तस्करी, नार्को–आतंकवाद तथा हतियारसम्बन्धी गम्भीर अभियोग लगाएको छ । 

ट्रम्प प्रशासनले उनलाई अमेरिकी अदालतमा अमेरिकी कानुनअनुसार कठोर कारबाही गरिने जनाएको छ । यस घटनाले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रको सार्वभौमिकताबारे विश्वस्तरमा नयाँ बहस सुरु गराएको छ ।



  • प्रकाशित मिति : २२ पुस, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया