२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

ट्रम्पले भने- भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल उपलब्ध गराउने छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गरेका छन् । उनले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न बैठक आयोजना गर्ने जनाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तर समस्याग्रस्त तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको बताइएको छ । यस बैठकमा एक्सन, सेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।



यही दिन काराकासका अधिकारीहरूले कम्तीमा २४ जना भेनेजुएलाका सुरक्षा अधिकारीहरू रातारात मारिएको पुष्टि गरेका छन् । ती अधिकारीलाई अमेरिकी पक्षले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगको सामना गराउन सञ्चालन गरेको सैन्य अपरेसनका क्रममा मृत्यु भएको बताइएको छ ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजले ट्रम्पको चेतावनीप्रति कडा प्रतिक्रिया जनाउँदै आफूलाई धम्की दिनेहरूको भाग्य ‘भगवानद्वारा निर्धारित हुने’ बताए । 



भेनेजुएलाका महान्यायाधिवक्ता तारिक विलियम साबले उक्त सैन्य कारबाहीमा दर्जनौं सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान गएको र यसलाई अभियोजकहरूले ‘युद्ध अपराध’ का रूपमा अनुसन्धान गरिरहेको जानकारी दिए । यसबीच क्युबाको सरकारले भेनेजुएलामा कार्यरत आफ्ना ३२ जना सेना र प्रहरी अधिकारीहरूको मृत्यु भएको पुष्टि गरेको छ । 

अनुसार उक्त छापामा सातजना अमेरिकी सैनिक घाइते भएका थिए, जसमध्ये पाँचजना ड्युटीमा फर्किसकेका छन् । दुईजना उपचाररत छन् । घाइतेहरूमा गोली र विस्फोटका छर्राले लागेको चोट रहेको जनाइएको छ ।

तेल कारोबार हाल प्रतिब्यारेल करिब ५६ डलर रहेको अवस्थामा ट्रम्पले घोषणा गरेको सम्झौताको कुल मूल्य करिब दुई अर्ब ८० करोड डलर पुग्न सक्ने अनुमान गरिएको छ ।

भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार भए पनि देशको दैनिक उत्पादन करिब १० लाख ब्यारेलमा सीमित छ, जुन अमेरिकी उत्पादनको तुलनामा निकै कम हो ।



यसैबीच ट्रम्पले भेनेजुएलामाथि गरिएको सैन्य अपरेसनको डेमोक्रेटिक आलोचनाको प्रतिवाद गर्दै यसलाई सही कदमको संज्ञा दिएका छन् । सन् २०२० मा मदुरोमाथि संयुक्त राज्य अमेरिकाले नार्को–आतङ्कवाद र अन्तर्राष्ट्रिय कोकेन तस्करीको अभियोग लगाएको थियो र उनको गिरफ्तारीका लागि पाँच करोड डलर पुरस्कार घोषणा गरिएको छ ।  

अमेरिकामा गरिएको पछिल्लो जनमत सर्वेक्षणअनुसार मदुरोको गिरफ्तारीबारे अमेरिकीहरू विभाजित देखिएका छन् । करिब ४० प्रतिशतले अपरेसनको समर्थन गरेका छन् भने लगभग उस्तै प्रतिशतले विरोध जनाएका छन् । धेरैजसो अमेरिकीहरूले भने भेनेजुएलाका जनताले आफ्नो भविष्य आफैँ तय गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  

मदुरोको गिरफ्तारीपछि ट्रम्प प्रशासनको कडा विदेश नीतिले विश्वभर चिन्ता बढाएको छ । यसैक्रममा ग्रिनल्यान्डको सार्वभौमसत्ता र कोलम्बियामाथि सम्भावित सैन्य कारबाहीबारे पनि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बन्दै गएको छ ।

युरोपका प्रमुख मुलुकहरूले ग्रिनल्यान्ड डेनमार्ककै स्वशासित क्षेत्र भएको स्पष्ट गर्दै त्यहाँका जनताकै अधिकार सर्वोपरि हुने बताएका छन् ।

  • प्रकाशित मिति : २३ पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया