संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा भइरहेका सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको पृष्ठभूमिमा इरानका सैन्य प्रमुखले बुधबार कडा चेतावनी दिएका छन् ।
उनले इरान बाहिरी शक्तिको दबाब र धम्की सहेर चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका हुन् ।
फार्स समाचार एजेन्सीका अनुसार इरानी सेनाका कमान्डर जनरल अमिर हातमीले इस्लामिक गणतन्त्र इरानले इरानी राष्ट्रविरुद्ध भइरहेको शत्रुतापूर्ण बयानबाजीको बढ्दो प्रवृत्तिलाई गम्भीर खतरा ठान्ने बताए ।
उनले भने, ‘इरानले यस्ता धम्की र शत्रुतापूर्ण अभिव्यक्तिलाई प्रतिक्रिया नदिई निरन्तर सहन सक्दैन ।’
इरानी सेनाका वरिष्ठ कमान्डर भए पनि सबैभन्दा उच्च राजनीतिक अधिकारी नभएका जनरल हातमीले चेतावनी दिँदै यदि ‘शत्रुहरूले कुनै गल्ती गरे’ भने इरानको प्रतिक्रिया गत जुनमा इजरायलसँग भएको १२ दिने युद्धको तुलनामा अझै कडा र शक्तिशाली हुने चेतावनी दिए ।
हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारी मारिएमा अमेरिकाले हस्तक्षेप गर्ने धम्की दिएका थिए । उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा भइरहेको विरोध प्रदर्शनप्रति समर्थन व्यक्त गरेका छन् ।
गत २८ डिसेम्बरमा तेहरानका व्यापारीहरूले बढ्दो महँगी र इरानी मुद्रा रियालको तीव्र अवमूल्यनको विरोधमा प्रदर्शन गरेका थिए । त्यसपछि देशका अन्य धेरै सहरमा पनि यस्तै खालका प्रदर्शन फैलिएका थिए, जसमा केही घटनाहरू घातकसमेत भएका छन् ।
विवादित निर्वाचनपछि सन् २००९ मा भएको व्यापक सडक आन्दोलनबाहेक, हालका प्रदर्शनहरू सन् २०२२ देखि २०२३ सम्म चलेको आन्दोलनको स्तरसम्म भने पुग्न सकेका छैनन् । तथापि, आर्थिक कारणले सुरु भएका यी विरोध प्रदर्शनहरूले ईस्लामिक गणतन्त्र इरानका अन्तर्राष्ट्रिय विरोधी राष्ट्र र तिनका नेताको विशेष ध्यान आकर्षित गरेका छन् ।
आइतबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘हामी यसलाई धेरै नजिकबाट हेरिरहेका छौँ । यदि उनीहरूले विगतमा जस्तै मानिसहरूलाई मार्न थाले भने मलाई लाग्छ उनीहरूले संयुक्त राज्य अमेरिकाबाट निकै गम्भीर प्रतिक्रिया भोग्नुपर्नेछ ।’
यसैबीच, प्रधानमन्त्री नेतान्याहुले इजरायली मन्त्रिपरिषद् बैठकमा भने, ‘हामी इरानी जनताको सङ्घर्षसँग, उनीहरूको स्वतन्त्रता र न्यायका लागि गरिएको आकांक्षासँग ऐक्यबद्ध छौँ ।’
सोमबार इरानी विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहुले हिंसा भड्काउने प्रयास गरेको र इरानको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको आरोप लगाएको थियो ।
गत जुन महिनामा इरानी सैन्य तथा आणविक संरचनामाथि भएको अभूतपूर्व इजरायली आक्रमणसँगै दुवै देशबीच युद्ध सुरु भएको थियो । सो क्रममा इरानका तीन प्रमुख आणविक स्थलमा आक्रमण गर्दै अमेरिकाले पनि केही समयका लागि सैन्य कारबाहीमा सहभागिता जनाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।