सन् २०१५ जीवनलाई एक झट्कामा दुई भागमा बाँडिदिने त्यो क्षण रत्न बहादुर तामाङका लागि कहिल्यै नबिर्सने दुर्घटना बन्यो । रत्नबहादुर तामाङ, इलेक्ट्रिक पसलमा काम गर्दा दुर्घटनामा परि दुवै हात गुमाए । धेरैका लागि यहीँ जीवन रोकिन्थ्यो, तर उनका लागि यहीँबाट सङ्घर्षको नयाँ अध्याय सुरु भयो ।
दुर्घटनापछि लामो उपचार र अपरेसन भयो । उनलाई शारीरिक सीमिततासँगै मानसिक पीडा झनै ठूलो थियो । समाज, रोजगारी र भविष्य—सबै प्रश्न चिन्हमा थिए । तर, जवाफ उनले आफैँसँग खोजे । फेरि पनि सङ्घर्ष नै रोजे ।
उनको संषर्ष आज हजारौँको प्रेरणा बनाएको छ । हात नहुँदा पनि उनले बाँकी रहेको हातको सहायताले खाना पकाउने सीप विकास गरे । जीवन धान्नका लागि उनले सामाजिक सञ्जालमा खाना बनाउने भिडियोहरू अपलोड गर्न थाले । सरल भान्सादेखि सिर्जनात्मक परिकारसम्म, उनका भिडियोहरूले दर्शकको मन जित्दै गयो । यही सामाजिक सञ्जाल नै उनको परिवार चलाउने मुख्य आम्दानीको स्रोत बन्यो ।
रत्नबहादुरको यात्रा यतिमै सीमित छैन । संघर्षले नै उनलाई भारतको चर्चित इन्डियन कुकिङ कम्पिटिसन मास्टरसेफ इन्डिया २०२६ सम्म पु¥यायो । जनवरी ५ मा प्रसारित कार्यक्रममा रत्नबहादुरले आफैँ टमाटर, प्याज र बन्दाकोपी चक्कुले काट्दै नुडल्स तयार गरे । सीमित शारीरिक अवस्थाका बाबजुद देखाएको आत्मविश्वास, सीप र धैर्यले निर्णायक मात्र होइन, क्यामेराम्यानसम्मलाई स्तब्ध बनायो । कार्यक्रममै उनलाई स्ट्यान्डिङ ओभेसन दिइयो ।
त्यसैले रत्नबहादुर आज केवल प्रतियोगी होइनन्, आशा र सकारात्मक सोचका प्रतीक हुन् । उनका लागि मास्टरसेफ केवल प्रतिस्पर्धा होइन, जीवनसँग जित हासिल गरेको अर्को प्रमाण हो । शारीरिक असक्षमता कमजोरी होइन, इच्छाशक्ति नै सबैभन्दा ठूलो शक्ति हो भन्ने सन्देश उनले आफ्नो यात्राबाट दिन सफल भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।