२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

अमेरिकी कदमले जलवायु नीति अस्थिर, युरोपले सहकार्य जारी राख्ने

युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रहरूसँग सहकार्य निरन्तर जारी राख्ने स्पष्ट गरेका छन् । 

इयुका जलवायु आयुक्त वोप्के होक्स्ट्राले बिहीबार प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) सहित दर्जनौँ अन्तर्राष्ट्रिय सङ्गठन र सन्धिहरूबाट अमेरिका बाहिरिने निर्णय सार्वजनिक गरेपछि पनि युरोपको प्रतिबद्धता कमजोर नहुने बताए ।



सन् १९९२ मा पारित युएनएफसिसिसी सन्धि हरितगृह ग्यास उत्सर्जन घटाउने, विश्व तापक्रम नियन्त्रण गर्ने तथा जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गर्न राष्ट्रहरूलाई सहकार्यका लागि एक साझा आधार उपलब्ध गराउने उद्देश्यले गरिएको विश्वव्यापी सम्झौता हो ।

आयुक्त होक्स्ट्राले युएनएफसिसिसीले ‘विश्वव्यापी जलवायु कार्यलाई समर्थन गर्ने आधारशिला’ को भूमिका खेलेको उल्लेख गर्दै यसबाट अमेरिका पछि हट्नु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।



‘विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र दोस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता राष्ट्रले यस्तो आधारभूत सन्धिबाट पछि हट्ने निर्णय खेदजनक र दुर्भाग्यपूर्ण छ’, होक्स्ट्राले सामाजिक सञ्जाल लिङ्कडइनमा लेखेका छन्, ‘हाम्रो साझा समझदारी र कामको आधारका रूपमा इयु अन्तर्राष्ट्रिय जलवायु अनुसन्धानलाई स्पष्ट रूपमा समर्थन गर्न निरन्तर रहनेछ । साथै, अन्तर्राष्ट्रिय जलवायु सहकार्यमा पनि हामी सक्रिय रूपमा काम गरिरहनेछौँ ।’

आफ्नो घरेलु नीतिमा जीवाश्म इन्धनलाई प्राथमिकता दिँदै आएका राष्ट्रपति ट्रम्पले मानव गतिविधिका कारण पृथ्वी तातिरहेको छ भन्ने वैज्ञानिक सहमतिलाई खुलेर अस्वीकार गर्दै जलवायु विज्ञानलाई ‘झुटो’ भन्दै आलोचना गर्दै आएका छन् ।

उनको प्रशासनले नोभेम्बरमा ब्राजिलमा सम्पन्न पछिल्लो संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनमा कुनै पनि आधिकारिक प्रतिनिधि पठाएको थिएन । उक्त सम्मेलन प्रत्येक वर्ष युएनएफसिसिसीको छातामुनि आयोजना हुँदै आएको छ । 

यसैबीच, स्वच्छ ऊर्जा रूपान्तरणका लागि इयुकी उपाध्यक्ष टेरेसा रिबेराले ट्रम्प प्रशासनले वातावरण, जनस्वास्थ्य वा आम मानिसको पीडाप्रति ‘कुनै चासो नदेखाएको’ आरोप लगाए ।



‘शान्ति, न्याय, सहयोग वा समृद्धि यी प्रशासनका प्राथमिकतामै छैनन्’, उनले सामाजिक सञ्जाल ब्लुज्कीमा लेखेका छन् ।

राष्ट्रपति ट्रम्प सत्तामा फर्किएपछि ऐतिहासिक पेरिस जलवायु सम्झौताबाट पनि अमेरिका बाहिरिसकेको छ । उनले सन् २०१७ देखि २०२१ सम्मको आफ्नो पहिलो कार्यकालमा गरेको निर्णयलाई पछि उहाँका उत्तराधिकारी, डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनले उल्टाएका थिए ।

युएनएफसिसिसीजस्तो आधारभूत सन्धिबाट बाहिरिने अमेरिकी कदमले भविष्यमा कुनै पनि प्रशासनले पुनः सामेल हुन खोज्दा थप कानूनी जटिलता र अनिश्चितता सिर्जना गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

  • प्रकाशित मिति : २४ पुस, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया