९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

क्रिकेटमा इंग्ल्याण्डविरुद्ध कस्तो छ नेपालको विगत प्रदर्शन ?
टी-२०आईमा इंग्ल्याण्डसँग नेपालको पहिलो भेट

आइसिसी टी–२० विश्वकपको १०औँ संस्करण आउँदो ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुँदैछ । आसन्न विश्वकपमा नेपाल पनि सहभागिता जनाउँदैछ, जसका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टोलीसमेत घोषणा गरिसकेको छ ।

आउँदो विश्वकपमा नेपालले इंग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेशजस्ता टेस्ट टिमको सामना गर्नेछ । साथै पहिलोपटक विश्वकप खेलिरहेको इटालीविरुद्ध पनि नेपालको भेट हुनेछ ।



ताजा अवस्थामा विश्वकपमा नेपालले खेल्ने सर्वाधिक बलियो टिम हो, दुईपटकको टी–२० विश्वकप विजेता इंग्ल्याण्ड । ऊ सन् २०१० र २०२२ को विश्वकप च्याम्पियन हो । 



इंग्ल्याण्डविरुद्ध नेपालको विगत  

आसन्न विश्वकपमा नेपाल र इंग्ल्याण्डबीचको खेल ८ फेब्रुअरीमा मुम्बईको वानखेडे स्टेडियममा हुने तालिका छ । नेपाल पहिलोपटक इंग्ल्याण्डको सिनियर टोलीसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले यू–१९ विश्वकपमा भने इंग्ल्याण्डसँग पाँचपटक प्रतिस्पर्धा गरिसकेको छ । तर, नेपालले जित भने हासिल गर्न सकेको छैन । नेपालले पहिलोपटक सन् २००० को यू–१९ विश्वकपमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो ।

उक्त खेलमा इंग्ल्याण्डले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ९६ रनमै अलआउट भयो । त्यस विश्वकपमा नेपालको कप्तानी विनोद दासले गरेका थिए । 



त्यस्तै, सन् २००२ को विश्वकप पनि नेपालले विनोद दासको कप्तानीमा नै खेलेको थियो । उक्त खेलमा इंग्ल्याण्डसँग नेपाल ३७ रनले पराजित भयो ।

त्यस्तै, नेपालले तेस्रोपटक सन् २००४ को विश्वकपमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्‍यो, जहाँ नेपालको कप्तानी शक्ति गौचनले सम्हालेका थिए । त्यस खेलमा नेपाल ८ विकेटले पराजित भयो ।

विश्वकपको उक्त म्याचमा नेपालका लागि शरद भेषवाकर (८२) बाहेक कुनै पनि ब्याटरले ठूलो पारी खेल्न सकेनन् । त्यस विश्वकपमा पारस खड्का पनि टोलीमा समावेश थिए । 

नेपाल र इंग्ल्याण्डबीच यू–१९ विश्वकपमा चौथोपटक सन् २००६ मा भेट भयो, जहाँ नेपाल ७७ रनले पराजित भयो । उक्त विश्वकपमा इंग्ल्याण्डको कप्तानी मोइन अलीले गरेका थिए । नेपालबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मीलगायत खेलाडी पनि टोलीमा थिए ।

त्यस्तै, नेपालले इंग्ल्याण्डसँग पाँचौंपटक सन् २०१२ को यू–१९ विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । त्यस खेलमा नेपाल १ सय २७ रनले पराजित भयो ।

सन् २०१२ को उक्त विश्वकपमा इंग्ल्याण्डको टोलीमा रहेका ओपनिङ ब्याटर बेन डकेट आसन्न विश्वकपमा पनि नेपालविरुद्ध खेल्ने छन् । विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा इंग्ल्याण्डजस्तो बलियो राष्ट्रविरुद्ध नेपालसामु  अवसर र चुनौती दुवै छन् ।   

इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सके नेपाललाई हेर्ने विश्व क्रिकेटको नजर थप फराकिलो हुनेछ । साथै प्रतियोगितामा नेपालको मनोबल पनि उच्च हुनेछ, जसले बाँकी खेलमा राम्रो प्रदर्शन गर्न मद्दत गर्नेछ ।

इंग्ल्याण्डविरुद्ध सानदार प्रदर्शन गर्दै नेपाली खेलाडीसामु पनि आफूलाई प्रमाणित गर्ने राम्रो अवसर पनि छ । विश्वकपमा इंग्ल्याण्ड टिमको सबैभन्दा ठूलो कमजोरी हो, स्पिनरविरुद्ध खराब ब्याटिङ गर्नु हो ।

इंग्ल्याण्डका ब्याटर फास्ट बलरविरुद्ध ब्याटिङ गर्नमा भने माहिर छन् । उनीहरू सानैदेखि बाउन्स र शर्ट पिचमा ब्याटिङ गर्ने गर्छन् । तर, इंग्लिस ब्याटरहरू स्पिनरविरुद्ध सजिलै रन बनाउन सक्दैनन् ।

नेपालको टिममा सन्दीप लामिछाने, शेर मल्ल, ललितनारायण राजवंशी जस्ता स्पिनर हुने छन्, जसले इंग्ल्याण्डविरुद्ध राम्रो प्रभाव पार्न सक्छन् । 

इंग्ल्याण्डविरुद्ध खेल्नु नेपालका लागि अवसर मात्र नभइ चुनौती पनि हो । नेपाल प्रायः ठूलो प्रतियोगितामा खराब ब्याटिङ गर्दै आइरहेको छ । नेपालको ठूलो समस्या फास्ट बलरविरुद्ध रन बनाउन नसक्नु हो ।

विगतका महत्वपूर्ण खेलमा नेपालले जितिसकेको खेल फास्ट बलरविरुद्ध खराब ब्याटिङ गर्दा गुमाएको छ । इंग्ल्याण्डको टिममा पनि कयौँ विश्व चर्चित फास्ट बलर छन्, जोविरुद्ध नेपाली ब्याटरलाई रन बनाउन त्यति सजिलो हुने छैन ।

जोफ्रा आर्चर, ब्राइडन कार्स, जोश टंगजस्ता तीव्र गतिका बलर इंग्ल्याण्डको टोलीमा समावेश छन् । 

इंग्ल्याण्डको टिम बलिङभन्दा ब्याटिङमा झन् बलियो छ । उसको टोलीमा यसपालि कप्तान ह्यारी ब्रुक, जोश बटलर, फिल साल्ट, विल ज्याक्स, बेन डकेटजस्ता विस्फोटक ब्याटर हुने छन् ।

यस्तो अवस्थामा नेपालले इंग्ल्याण्डविरुद्ध खेल जित्न ब्याटिङ, बलिङ र फिल्डिङ सबै विधामा सानदार प्रदर्शन गर्नु पर्नेछ ।

यसपालिको विश्वकपमा खासगरी नेपालले ब्याटिङमा विशेष ध्यान दिनु पर्नेछ । हुन त क्रिकेट अनिश्चितताको खेल हो । म्याच समाप्त नहुँदासम्म कसले जित्छ भनेर अनुमान गर्न सकिँदैन ।

नेपालले सन् २०२४ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाजस्तो बलियो राष्ट्रविरुद्ध लगभग जितिसकेको खेल मात्र एक रनले गुमाएको थियो ।

आउँदो विश्वकपमा नेपाली टिमले गत संस्करणको बलिङ प्रदर्शन दोहोर्याउने र ब्याटिङमा सुधार गर्दै अलग छाप छोड्न चाहन्छ ।

  • प्रकाशित मिति : २४ पुस, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया