Sun, 18 Aug, 2019


अभावले बनायाे सडक गायनका अभियन्ता
फरकधार / असार १४, २०७६

नयाँ बानेश्वर संसद् भवनअगाडिको पीपलबोट । साँझ ५ बजे । एकजना किशोरको छेउमा एउटा पानीको बोतल । भुइँमा गितार राख्ने ब्याग, त्यसमाथि केही पैसाका नोटहरू । छेउको एउटा पानामा लेखिएको छ, ‘हेल्प माइ स्टडी ।’ 



भुइँमा गितार ब्याक बेवारिसे अवस्थामा छ । ब्यागमाथि केही थान सय, पचास, बीस, दश र पाँच रुपैयाँका नोटहरू  छरिएर रहेका छन् । वेलाबेलामा हावाको झोक्काले ती नोट उडाउलाजस्तो गर्छ, तर उडाउँदैन किनकि ढुंगाले त्यसलाई थिचेको छ  । 

सडकपेटीमा मानिसको आउजाउ चलिरहेकै छ । केही मानिस भने त्यसवरपर भिड गरेर बसिरहेका छन् । भिडभाडको बीचमा एकजना युवक छन् । कालो टिसर्ट, कालै ज्याकेट, खैरो जिन्स पाइट, कालो जुत्ता । हातमा गितार बोकेर उनी बजाउँदै थिए । गितारको धुनमा मानिसहरू लठ्ठ भइरहेका छन् ।

उनी हुन्, सुलभ मिश्र । विगत एक वर्षदेखि सडकमा यसै गरी गितार बजाइरहेका छन् । सडकमा गितार बजाउनु उनको रहर होइन, बाध्यता हो । उनी सडकबाटै प्रतिभा प्रस्तुत गरिरहेका छन् । संकलित रकमले आफ्नो गर्जो टारिरहेका छन् ।

चितवन बसेनीका रैथाने हुन्, सुलभ । उनी ९ वर्षको हुँदा बुबा–आमाबाट टाढा भए । कामको सिलसिलामा भारत गएका उनका बुबा–आमा फर्किएर आएनन् । त्यसपछि फुपूको आश्रयमा बस्न थाले सुलभ । 

अर्काको घरमा बस्नु आफ्नोमा बस्नजस्तो सजिलो कहाँ हुन्थ्यो र ! फुपुको घरमा बस्दा पनि आवश्यकता पूरा नभएको त होइन । तैपनि केही अभाव महसुस भयो, उनलाई । कहिले आर्थिक अभाव त कहिले माया–ममताको अभाव । धेरै दिन रोएर बिताए, उनले । जसोतसो फुपूकै घरमा बसे, उनी । फूपुले पनि सुलभलाई सक्दो माया र साथ दिएकै थिइन् । 

आफ्नो पढाइलाई निरन्तरता दिँदै अगाडि बढे सुलभ । पढाइमा निकै मिहिनेती थिए, उनी । पढाइ पनि विलक्षण थियो । स्थानीय मनशिक्षा मन्दिरबाट एसइर्ई दिए । ०७३ सालको परीक्षामा ए ग्रेड ल्याए ।

यसैबीच काठमाडाैंमा पनि साथीहरू बनिसकेका थिए सुलभका । साथीहरूले काठमाडाैंको कुरा सुनाउँदा उनको मनमा निकै जिज्ञासा आउँथ्यो, कस्तो होला काठमाडौं ? फुपूले केही भनेको त होइन, तर थप बोझ बनेर बसिरहन मन लागेन, सुलभलाई । 

चितवनबाट कतै नगएका सुलभका लागि सपनाको सहर थियो, काठमाडौं । काठमाडौं जाने योजना बनाए उनले । त्यसो त सुलभजस्ता हजारौँको सपना हो, काठमाडौं । तर, यहाँका कथा–व्याथा यहाँ बसेपछि मात्रै मानिसले थाहा पाउँछन् । 

काठमाडौंबाटै उच्च शिक्षा सुरु गर्ने उद्देश्यले राजधानी छिरे सुलभ । फुपूसँग केही पैसा लिएर राजधानी त आए, तर कहाँ जाने भन्ने उनी आफैँलाई पनि थाहा थिएन । सुरुका केही दिन साथीसँग बानेश्वरमा बस्न थाले । साथीसँग पनि कति बस्ने भन्ने लागेर आफूसँग भएको पैसाले होस्टेल बस्न थाले  । होस्टेलको खर्च धेरै थियो । कलेज पनि पढ्नु थियो उनलाई  ।

न्यु समिट कलेजमा कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत सुलभलाई कलेज फीको पहिलो किस्ताका लागि २५ हजार पुर्याउनु छ । उनले अहिलेसम्म ७ हजार रकम जम्मा गरेका छन् । थप, रकमको लागि उनले दिन प्रतिदिन लागिपरेका छन् । 

काठमाडौंमा सबै थोक पाइएला भन्ने लागेको थियो यनलाई यहाँ आउनुअघिसम्म । भन्छन्, ‘काठमाडौं आएर यहाँ बस्न थालेपछि थाहा पाएँ, यहाँको दुःख ।’

सानै उमेरमा दुःख भोगेका सुलभलाई काठमाडौं आएपछि झ्न अभाव र पीडाले सताउन थाल्यो । कसैले कसैलाई कसलाई नचिन्ने यो सहरमा उनी सहाराविहीनजस्तै भए । 

आर्थिक अभावका कारण परदेसिएका परिवारको पनि उनलाई पढाउने हैसियत थिएन । तर, उनमा भने धेरै पढेर घरपरिवारको दुःखलाई सुखमा बदल्ने तीव्र इच्छा थियो । 

केही समयपछि उनीसँग भएको पैसा सकियो । कलेजको फीदेखि होस्टेलको चार्जसम्म तिर्न कठिन हुन थाल्यो । कलेजका मिल्ने साथीहरूले सहयोग गरेसँगै उनलाई केही सहज भयो । तिनै साथीहरूको सहारामा उनीहरूसँगै गीत गाउँदै हिँड्न थाले । पछि उनी होस्टल बस्न छाडेर साथीभाइसँगै बस्न थाले । 

सधैँभरि साथीभाइको सहयोगमा बाँच्नुभन्दा आफ्नै खुट्टामा उभिन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । उनले एउटा उपाय रचे । आफ्नो कला बेचेर सपना पूरा गर्ने । 
आफूसँग भएको ५ हजार रकम र साथीभाइकोे ५ हजार सहयोगमा उनले एउटा गितार किने । त्यही गितारको साहारामा उनी गीत गाउन थाले । 

सुलभ सानैदेखि संगीतप्रेमी पनि थिए । उनी भन्छन्, ‘सानै उमेरमा स्कुलमा गीत गाएर केही पुरस्कार पनि पाएको थिएँ । उपहार पाउँदै जाँदा मभित्र संगीतको रुचि बढ्दै गयो ।’

अहिले उनी काठमाडौंमा मानिसहरूको चहलपहल हुने चोकमा गितार बजाएर गीत गाउँदै हिँड्छन् । नेपालमा एक्लै बाटोमा गितार बजाएर हिँड्ने खासै चलन छैन । पश्चिमी संस्कृतिमा भने यस्तो देख्न सकिन्छ । नेपालमा अहिलेसम्म खुलेर नआएको बताउँछन्, सुलभ । 

अंग्रेजी गायकहरूको जीवनीबाट प्रभावित उनी प्रायः अंग्रेजी गीत सुन्न मन पराउँछन् । अझ त्यसमा पनि सानो उमेरमा सडकमा गाउँदै हिँडेर पछि ठूलो स्थानसम्म पुगेका धेरैको जीवनीले आफूलाई उत्प्रेरणा मिलेको बताउँछन्, सुलभ । 

बाटोमा गीत गाएर सुलभले आफ्नो दैनिक आवश्यकता परिपूर्ति मात्रै होइन, गायक बन्ने सपना र पढाइलाई पनि अघि बढाइरहेका छन् । 

सुरुवातका दिनमा गीत गाएर हिँडदा उनलाई धक लाग्ने गथ्र्योे । तर, मानिसहरूले राम्रो काम गर्यौ, आफ्नो कला बचेर पढिरहेको छौ भनेर उत्प्रेरणा दिएकाले अहिले मन प्रफुल्ल भएर आउने बताउँछन्, सुलभ । 

पहिले उनीे पशुपति मन्दिरछेउमा पनि आफ्नो कला देखाउन जान्थे । तर, सुरक्षकर्मीले त्यहाँ बस्न दिएन । गुनासो गर्दै उनी भन्छन्, ‘आफ्नो कला बेचेर पढाइ यात्रा बढाउन खोज्दा त्यहाँ बस्न दिएनन्, यसमा साह्रै दुःख लागेको छ ।’

‘पशुपतिपरिसरको कैलाश डाँडा चढ्ने सिँढीमुनि उभिएर गितार बजाउँदै थिएँ । एक हुल सेना गस्तीमा आए । सेनाका जवानहरूले हप्काए, तेरो यो गीत गाएर बस्ने ठाउँ हो ?’ त्यस दिनको घटना स्मरण गर्दै सुनाए । 

सेनाले थर्काएपछि आफ्ना हात–खुट्टा काँप्न थालेको र निधारबाट चिट्चिट् पसिना आएको उनी सम्झिन्छन् । त्यसपछिका दिनमा पशुपति क्षेत्र जान छाडेर उनी नयाँ बानेश्वरमा आएर गीत गाउन थाले । 

यसरी सडकमा गीत गाएर जम्मा गरेको पैसाले ६ महिनाको अवधिमा उनले संस्था खोले, ‘स्ट्रिट म्युजिम नेपाल’ । सुलभ यो संस्थाका संस्थापक हुन् र सडक गायनका अभियन्ता पनि । 

उनी दिउँसोको समयमा कलेज पढेर फर्केपछि साँझ ६ बजेसम्म गितारको संगीतमा गीत गाएर पैदलयात्रीलाई मनोरञ्जन दिइरहेका हुन्छन् । दैनिकजसो १ हजार देखि १५ सयसम्म कमाउँदै आएका छन् । पैदलयात्रीले उनको गायन सुनेर खुसी भएर दिएको रकम हो त्यो ।

यही रकमबाट आफ्नो दैनिक गुजारा र पढाइ खर्च पुर्याइरहेका छन् । उनले आफ्नो पढाइ र संगीतलाई समानानतर रूपमा  अघि बढाइरहेका छन् । 

सो रकम आफ्ना लागि मात्रै खर्च गर्दैनन् । दैनिक गुजारा र पढाइ खर्च गरेर बचेको पैसा अनाथ बालबालिकालाई दिँदै आएको सुलभ बताउँछन् । 

तर, यसरी काम गर्दा कसैले केही भन्ने पो हो कि भने डर उनमा छ । ‘यो मेरो बाध्यता हो, तर मजस्तै अरू पनि हुनुहुन्छ । आज मैले गरिरहेको छु, भोलि अरू कसैले गर्लान्,’ सुलभ भन्छन्, ‘तर यसलाई माग्नेको रूपमा हेर्ने सोच अलि टाढा राख्नुपर्दछ । एउटा मानिसको पीडा अर्को मानिसले बुझ्न सक्नुपर्छ ।’ 
यसो भनिरहँदा उनको आँखा टिलपिलटिलपिल गरिरहेका थिए ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्