९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उनको भनाइ छ ।



‘मेयर साह र सभापति लामिछानेको पृष्ठभूमि, स्वभाव, विचार र राजनीतिक यात्रा फरक थियो, तर दुवै जना वैकल्पिक शक्तिका रुपमा उदाएकाले उहाँहरुको बीचको राजनीतिक सहयात्राले मुलुकलाई निर्वाचनमा धकलेको हो भन्ने लाग्छ’, साहले भने ।

दुवै नेताबीच भएका कैयौँ भेटमा दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफू लगायतले पहल गरेको उनको भनाइ छ । 



उक्त सहमति  राजनीतिक गणितका आधारमा मात्र नभइ व्यक्तिगत विश्वास र सम्बन्धले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

‘कतिपयले उक्त सहमति अदृश्य शक्तिका कारण पनि भने, तर त्यहाँ हामी केही साथीहरू मात्रै थियौँ,’ उनले भने, ‘त्यो सहमतिको यात्रा सहज थिएन । सभापति लामिछानेको जेल बसाइँ, अदालती प्रक्रिया, मेयर बालेनको पारिवारिक शोक, धेरै अवरोध आए । अन्ततः दुवैबीच नयाँ राजनीतिक समीकरणको आधार तयार भयो ।’

उनले यो सहकार्य चुनावी रणनीति मात्रै नभइ दीर्घकालीन राजनीतिक परिवर्तनका लागि भएको बताए । सात÷आठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासप्रतिको समान चाहनाका कारण दीर्घकालीन सहकार्यका लागि सहमति जुटेको उनको बुझाइ छ ।

वैकल्पिक शक्तिहरू छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि आफूहरूले पहल थालेको साहले बताए । रास्वपाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिहरू एक ठाउँमा जुटाउने क्रमलाई जारी राखेको उनको भनाइ छ ।



‘छरिएर रहेका वैकल्पिक शक्तिहरू एउटै प्लेटफर्म, एउटै मञ्चमा उभ्याउनु जरुरी थियो, त्यसका लागि उपयुक्त मञ्च रास्वपा नै थियो’, उनले भने ।

  • प्रकाशित मिति : २६ पुस, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया