नेपाल चेम्बर अफ कमर्स र युएनआइसिटिएस नेपालको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता तथा सूचना प्रविधि नीतिबारे बृहत नीति संवाद सम्पन्न भएको छ ।
काठमाडौंको जमलस्थित नेपाल चेम्बर अफ कमर्स भवनमा आयोजित संवाद कार्यक्रममा एआई तथा सूचना प्रविधि क्षेत्रका ६० भन्दा बढी उद्योग प्रतिनिधि, नीति निर्माता, विज्ञ, शिक्षाविद्, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक, निजी क्षेत्र तथा सरकारी निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय जगदीश खरेल रहेका थिए । विशेष अतिथिका रूपमा पूर्वमन्त्री गणेश शाह सहभागिता रहेको थियो ।
नीति संवाद कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, सूचना प्रविधि, सफ्टवेयर तथा प्रविधि समितिका सभापति विज्ञान श्रेष्ठ तथा युएनआइसिटिएस नेपालका अध्यक्ष शंकर लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कानुन एआईका अध्यक्ष बाबुराम अर्याल प्रमुख वक्ता तथा सहजीकरणकर्ताका रूपमा रहेका थिए ।
नीति संवाद अन्तर्गत आयोजित समूहगत छलफलमा विद्युतीय शासन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विकास संस्था, नेपाल डिजिटल लिड्स, वाइज्याक इन्क, यु एन आई एप्रो, आईटियुसी एनएसी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, एनएएस–आईटी, एआई एसोसिएसन नेपाल, इन्टरनेट सेवा प्रदायक संघ, आरएएन, फिनटेक एलायन्स नेपाल, क्विकफक्स टेक्नोलोजिज, नेपाल क्लियरिङ हाउस लिमिटेड, ग्लोबल आइएमई बैंक, नेपाल बैंक तथा राष्ट्रिय कृत्रिम बौद्धिकता तथा मेसिन इन्स्टिच्युटका प्रतिनिधिहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
नेपाल टेलिकम र एनसेलका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो । छलफलका क्रममा नेपालमा कृत्रिम बौद्धिकता तथा सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्था, नीतिगत स्पष्टता, कानुनी तथा नियामक चुनौती, तथ्यांक सुरक्षा, साइबर जोखिम, दक्ष जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका विषयमा गहन बहस गरिएको थियो ।

सहभागीहरूले कृत्रिम बौद्धिकतालाई सुशासन, सार्वजनिक सेवा प्रवाह, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनाको प्रभावकारी माध्यमका रूपमा अघि बढाउन सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच संस्थागत सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले ।
यसै अवसरमा नेपाल चेम्बर अफ कमर्सको सूचना प्रविधि समिति र युएनआइसिटिएस नेपालबीच सूचना प्रविधि पेशाकर्मीहरूको हित संरक्षण, सीप विकास, नीतिगत पैरवी तथा सूचना प्रविधि उद्योग सुदृढीकरणका लागि सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रमको समापन नेपाल चेम्बर अफ कमर्स सूचना प्रविधि, सफ्टवेयर तथा निर्यात समितिका सभापति विज्ञान श्रेष्ठको मन्तव्यबाट गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।