२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

कांग्रेस ज्युँदाहरूको पार्टी हो, यहाँ प्रश्न मरेको छैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र कांग्रेस सबैको साझा घर भएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।  



उनले अधिवेशनभन्दा ठूलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको संघर्ष नभई देश, नागरिक र जनभावनालाई कसरी बुझ्ने भन्ने सोचको भिन्नताबाट उत्पन्न अवस्था भएको बताए । उनले अधिवेशनमा सहभागी नहुने सभापति पनि कांग्रेसकै सदस्य भएको र भुइँमा बसेर सहभागी हुने सदस्य पनि कांग्रेसकै सदस्य भएको उल्लेख गर्दै पदका आधारमा कोही ठूलो–सानो नहुने स्पष्ट पारे ।  

उनले भने, ‘हामीले एक ठाउँमा आउनुपर्छ, समीक्षा गर्नुपर्छ । त्यसको निम्ति अधिवेशनभन्दा अर्को मञ्च हाम्रो लागि सानो हुन्छ । यो शक्तिको, सत्ताको संघर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने जनभावनाको कदर गर्ने की नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा कोही यहाँ भयौँ कोही हामी यहाँ हुन सकेनौं । यहाँ नआएका सभापति पनि कांग्रेसको सदस्य हो भने भुईँमा तल बस्ने पनि कांग्रेसको सदस्य हो । दुईवटै बराबर हो । यहाँ कोही ठूलो कोही सानो छैन । पद र जिम्मेवारी मात्रै भिन्न हो, सबै बराबर हुन् । कांग्रेस भनेको पनि त्यही हो ।’



महामन्त्री थापाले पार्टी सञ्चालनको लामो समयदेखि जाम भएर बसेको पुरानो शैली अब भत्किएको दाबी गरे । उनले तल बस्ने सदस्यलाई माथि बस्नेले सम्मान गर्नुपर्ने संस्कार स्थापित हुनुपर्ने धारणा पनि राखे ।

त्यसैगरी, उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पार्टी सदस्यहरूले पनि नेतृत्वलाई सचेत गराएको उल्लेख गरे । पार्टी सञ्चालनको हालको तरिका ठीक नभएको भन्दै सरकारमा जानका लागि जे पनि गर्ने र सरकारबाट बाहिरिँदा सबै सकिएको जस्तो व्यवहार गर्ने प्रवृत्तिको आलोचना गरे ।

‘कांग्रेस सबैको साझा घर हो । यहाँ कोही सदस्य कसैका दास होइनन् । सबैको हक छ । पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो । आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो, त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन । तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ,’ थापाले भने ।  



यो विशेष महाधिवेशन सदस्यहरूको मागबाट भएको उल्लेख गर्दै महामन्त्री थापाले नीति र नेतृत्व दुवै बदल्नुपर्ने माग उठेको बताए । महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने विषयमा आफूलाई पनि थाहा नभएको भन्दै उनले हाउसले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने स्पष्ट पारे । उनले कांग्रेस दास र लासहरूको पार्टी नभइ कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछाडि पार्टीका सदस्यहरूले पनि भने तपाईंहरू सुध्रिनुपर्छ अब । पार्टी जसरी चलेको छ, ठीकठाक चलेको छैन । सरकारमा जानका लागि जे पनि गर्ने, सरकारबाट बाहिर बस्नुपर्‍यो भने सबै कुरा सकिएको जस्तो गर्ने हामीले गर्दै आयौँ । यो विशेष महाधिवेशनको एजेन्डा यो यो छ त्यसैले सम्भवतः यहाँ गएर टुंगिन्छ भन्न सकिन्थ्यो होला । यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो । तपाईंहरूले माग्दै गर्दा के माग्नु भएको छ नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ । यो कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन । किनकी म पनि तपाईंहरूले बोलाएर आएको पाहुना हो । तपाईंहरूले आयोजना गर्नुभएको छ । भोलि अधिवेशनको हाउस बस्छ, हाउसले डिसाइड गर्छ । जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ । कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो । कांग्रेसमा प्रश्न मरेको छैन, यहाँ हामी सबै बराबर छ हामी सबै बराबर छौं ।’

  • प्रकाशित मिति : २७ पुस, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया