२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

जसपा नेपाल र लोसपाबीच एकीकरण : के छ १२ बुँदे सहमतिपत्रमा ?

जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच आइतबार एकीकरणसम्बन्धी १२ बुँदे सहमति भएको छ ।

यसअघि गत १३ पुसमा दुवै दलबीच एकीकरण गर्ने सहमति गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो ।    



उक्त विज्ञप्तिलाई आधार मानी एकीकरणको प्रक्रिया औपचारिकरूपमा अगाडि बढाउने सहमति भएको दुवै पार्टीले बताएका छन् । 

सहमतिको दोस्रो बुँदाअनुसार जसपा र लोसपा एकीकृत भई ‘जनता समाजवादी पार्टी, नेपाल’ नै कायम रहनेछ । एकीकृत पार्टीको निर्वाचन चिह्न ‘छाता’ रहने निर्णय गरिएको छ ।  



पार्टीको झण्डा तीन रङ्गको रहने उल्लेख गरिएको छ । झण्डाको माथिल्लो भाग रातो, बीच भाग सेतो र तल्लो भाग हरियो हुनेछ । बीच भागमा ढल्किएको छाताको चिह्न रहने सहमतिमा उल्लेख छ । 

पाँचौँ बुँदामा एकीकृत पार्टी सञ्चालनका लागि केन्द्रीय समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ । समन्वय समिति ४३ सदस्यीय रहनेछ । यस समितिले आफ्नै सदस्यहरूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति भएको छ । 

छैटौँ बुँदाअनुसार दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुँदासम्म केन्द्रीय समन्वय समितिलाई संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकायको जिम्मेवारी दिइनेछ ।  

जसपा र लोसपा मातहत रहेका सबै तह तथा निकायका संगठन, भ्रातृ संस्था, शुभेच्छुक संगठन, विभाग र संयन्त्रहरू एकीकृत भई जनता समाजवादी पार्टी, नेपालको मातहतमा रहने सहमति गरिएको छ ।   



आठौँ बुँदामा संगठनात्मक समायोजन सम्पन्न नहुन्जेलसम्म पार्टी तथा पार्टीसम्बद्ध संगठन आ–आफ्नो कार्यक्षेत्रमा पार्टीको मातहत रही सक्रिय रहने उल्लेख गरिएको छ । 

सहमतिपत्रमा २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि पेश गरिने मनोनयन पत्रमा समन्वय समितिको निर्णयअनुसार हस्ताक्षर गरिने व्यवस्था गरिएको छ । 

उक्त हस्ताक्षर जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त रूपमा गर्ने सहमति भएको छ । 

दुवै पार्टीबीचको एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अघि बढाइने सहमतिमा उल्लेख छ । 

केन्द्रीय समन्वय समितिले गर्ने निर्णयलाई पार्टीका संरक्षक तथा अध्यक्षले प्रमाणीकरण गर्ने व्यवस्था पनि सहमतिपत्रमा समेटिएको छ ।   

  • प्रकाशित मिति : २७ पुस, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया