नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
यसअघि बिहान ८ बजेदेखि बन्दसत्र सञ्चालन गर्ने तयारी भए पनि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया अझै बाँकी रहेकाले तथा दर्तासँगै खाजाको समयसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम दुई घण्टा पछाडि सारिएको हो ।
व्यवस्थापन उपसमितिअन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि प्रतिनिधिको दर्ता र खाजाको व्यवस्था सुरु हुनेछ । त्यसपछि बिहान १० बजेदेखि बन्दसत्र औपचारिक रूपमा आरम्भ गरिनेछ ।
सचिवालयका अनुसार आइतबार साँझसम्म २ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन् । उद्घाटन सत्र सम्पन्न भएसँगै दर्ता फाइल बन्द गरिएको र त्यसपछि रात्रिभोजको कार्यक्रम सञ्चालन भएकाले आइतबारका लागि दर्ता प्रक्रिया स्थगित गरिएको थियो ।
यद्यपि उद्घाटन सत्रका कारण धेरै प्रतिनिधि दर्तामा सहभागी हुन नसकेको अनुमान गरिएकाले सोमबार बिहानदेखि दर्ता प्रक्रिया पुनः निरन्तरता पाउने सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।