२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

टी-२० विश्वकप : सन्दीपको जोडी खोजिँदै, ललित र मल्लबीच कडा प्रतिस्पर्धा
दोस्रो स्पिनरको दौडमा को अघि ?

आसन्न संस्करणको टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुँदैछ, जहाँ नेपाली पुरुष टिम पनि सहभागिता जनाउँदैछ । नेपाल लगातार दोस्रोपटक तथा समग्रमा तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको हो ।

आउँदो  ७ फेब्रुअरीदेखि सुरु हुने विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललको नेतृत्वमा १५ सदस्यीय टोलीसमेत घोषणा गरिसकेका छन् । आउँदो विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ नेपालले इंग्ल्याण्ड, वेस्ट इण्डिज र बंगलादेशजस्ता टेस्ट टिमविरुद्ध खेल्नेछ ।



त्यस्तै, नेपालको समूहमा इटाली पनि छ, जो पहिलोपटक विश्वकप खेल्ने तयारीमा छ । ऊ टी–२० वरियतामा नेपालभन्दा ११औँ स्थान पछि छ । बलियो राष्ट्रको समूहमा रहेको नेपालले खेल जित्न यसपालि उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ ।    

विश्वकपमा नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछन् । नेपाली खेलाडी पहिलोपटक यो मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्, नयाँ मैदान र नयाँ टिम यसपालि नेपाललाई थप चुनौती अवसर थपिएको छ । 



अघिल्लो विश्वकपमा जितविहीन बनेको नेपाललाई यसपालि खेल जित्नै पर्ने दबाब छ । त्यस्तै, नेपाललाई मुम्बईको आइकोनिक मैदानमा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्दै थप अनुभव बटुल्ने अवसर छ । 

विश्वकपमा नेपालले आफ्नो चारवटै खेल खेल्ने वानखेडेको पिच स्पिनरको तुलनामा फास्ट बलरलाई बढी अनुकूल मानिन्छ, जसकारण क्यानले सार्वजनिक गरेको विश्वकप टिममा करण केसी, सोमपाल कामी, नन्दन यादवजस्ता फास्ट बलरले मौका पाएका छन । गुलशन झा र आरिफ शेख पनि फास्ट बलरको विकल्पको रूपमा टोलीमा छन् । 

फास्ट बलरलाई अनुकूल वानखेडेको पिचमा कहिलेकाहीँ स्पिनरको पनि दबदबा रहन्छ । यहीकारण प्रशिक्षक स्टुअर्ट लले सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदलाई टिममा राखेका छन् । शेर र बसिरले पहिलोपटक टी–२० विश्वकपमा मौका पाएका हुन् । उनीहरू नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप टिममा परेका हुन् । 



विश्वकप टोलीमा रहेका चार स्पिनरमध्ये दुई जनाले नेपालको प्लेइङ–११ मा मौका पाउने छन्, जसमा स्टार लेगस्पिनर सन्दीप लामिछानेको स्थान पक्का छ । उनी नेपालको पहिलो रोजाइको स्पिनर हुन् ।

सन्दीपले सन् २०२४ को टी–२० विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सो विश्वकपमा उनले सबै खेल खेल्न नपाए पनि वेस्ट इण्डिजमा भएको दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलमा किफायती प्रदर्शन गरेका थिए । 

सन्दीपले दक्षिण अफ्रिकासँगको पहिलो खेलमा विकेट लिन नसके पनि चार ओभरमा मात्र १८ रन दिएर विपक्षी टिममाथि दबाब बढाएका थिए । त्यस्तै, उनले बंगलादेशसँगको दोस्रो खेलमा पनि सानदार बलिङ गर्दै निर्धारित ४ ओभरमा एक मेडनसहित १७ खर्चिएर महत्वपूर्ण दुई विकेट लिए ।

आउँदो विश्वकपमा पनि नेपालले सन्दीपबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । यतिबेला सन्दीप बंगलादेशमा बिपिएल खेलिरहेका छन् ।  

आसन्न टी–२० विश्वकपमा स्पिनमा सन्दीपको जोडी को भन्ने प्रश्न यतिबेला नेपाली समर्थकको मनमा खेलिरहेको छ, जसका लागि ललित राजवंशी र पहिलोपटक राष्ट्रिय टिममा परेका शेर मल्लबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

समग्रमा हेर्दा दुवैको सम्भावना बराबर छ । प्रशिक्षक र कप्तानले अनुभवको हिसाबले ललित र ब्याटिङको हिसाबले मल्ललाई मौका दिने सम्भावना छ । 

ललित राष्ट्रिय टिमका अनुभवी बलर हुन् । उनी लामो समयदेखि टिमका लागि सानदार प्रदर्शन गरिरहेका छन् । तर, पछिल्लो समय भने ललितले लय गुमाएका छन् । केही समयअघि सम्पन्न एनपिएल सिजन–२ मा उनले निराशाजनक प्रदर्शन गरे । पहिलो सिजनका सर्वाधिक विकेटकर्ता ललितले यसपालि भने पाँच खेलमा मात्र चार विकेट लिए ।

खराब प्रदर्शनकै कारण उनले लिगमा सबै खेल खेल्न पाएनन् । तर, ललितसँग अनुभव छ । उनले बलियो राष्ट्रसँग पहिला पनि खेलिसकेका छन् । र, ललितले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोही कारण पनि आसन्न विश्वकपमा ललितले प्लेइङ–११ मा मौका पाउने सम्भावना उच्च छ ।

ताजा लय हेर्दा युवा स्पिनर शेर मल्लको सम्भावना पनि बढी छ । उनी एनपिएल सिजन–२ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप टिममा परेका हुन् । मल्लले लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन अहम् भूमिका निर्वाह गरेका थिए । उनले लिगमा १० खेल खेल्दै सर्वाधिक १७ विकेट हासिल गरे । 

बलिङका साथै मल्ल ब्याटिङ पनि राम्रो गर्न सक्छन् । उनी टिमको आवश्यकताअनुसार क्रिजमा जम्न सक्छन्, त्यसैले मल्लको पनि सम्भावना उत्तिकै छ । आसन्न टी–२० विश्वकपमा नेपाल आफ्नो पहिलो खेल ८ फेब्रुअरीमा इंग्ल्याण्ड, दोस्रो खेल १२ फेब्रुअरीमा इटाली, तेस्रो खेल १५ फेब्रुअरीमा वेस्ट इण्डिज र चौथो खेल १७ फेब्रुअरीमा बङ्गलादेशसँग खेल्दैछ ।   

  • प्रकाशित मिति : ३० पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया