नेपाली कांग्रेस ठूलो दुर्घटनामा परेको छ । दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै गर्दा सभापति शेरबहादुर देउवा तथा संस्थापनपक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरिदिएको छ । यो निर्णय विवादित मात्रै बनेको छैन ठूलो बहस पनि निम्त्याई दिएको छ ।
दुई पक्षले आ-आफ्नै दाबी गरिरहँदा अब आधिकारिक को समूह हो भन्ने प्रश्न उठेको छ । ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन प्रक्रिया अघि बढाएको हो । त्यसो हुँदा कानुनविद्हरूका अनुसार बहुमत प्रतिनिधिको निर्णयलाई निर्वाचन आयोगले वैध ठहर गर्न सक्छ।
तर विवाद आयोगसम्म सीमित नहुँदै अदालतसम्म पुग्ने सम्भावना पनि रहेको छ । कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्ने र सभापतिले नबोलाएमा अन्य पदाधिकारीले बोलाउन सक्ने व्यवस्था छ । अहिले गगन-विश्व त्यही बाटो हिँडेका हुन् ।
निर्वाचन आयोगको अभिलेख हालसम्म सभापतिमा देउवा रहेको देखाउँछ । तथापि, कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ । उसले आफ्नो गतिविधि आयोगलाई जानकारी गराएको हो । बुधबार संस्थापन पक्षले पनि कारबाही गरेको पत्र आयोगमा पठाएको छ ।
यो बिचमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्वले आयोगमा अद्यावधिकको निवेदन दिने तयारी पनि गरिरहेको छ । यस्तो अवस्थामा संस्थापन पक्षले रोकथामको प्रयास गर्न सक्ने र आयोगले दुवै पक्ष सुनी निर्णय लिन सक्ने सम्भावना छ । आयोगको निर्णय नबुझे अदालतसम्म मुद्दा पुग्न सक्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।