२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

नेपाली कम्युनिष्ट पार्टीसँग राष्ट्रिय मुक्ति पार्टी नेपाल समायोजन

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच आज औपचारिक रूपमा पार्टी समायोजन भएको छ । आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरेका थिए । 



कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय मुक्ति पार्टी नेपालसँगको समायोजनले विशेषगरी काठमाडौं उपत्यकाका नागरिकका समस्या समाधानमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । 

उनले काठमाडौंमा सुकुम्बासी, खोला किनारका पीडित, अव्यवस्थित बसोबास तथा सामाजिक–आर्थिक समस्याबाट ग्रसित नागरिकका पक्षमा सङ्घर्ष गर्दै आएका नेताहरू पार्टीमा समाहित हुनु सकारात्मक सङ्केत भएको बताए । 



उनले भने, ‘काठमाडौंका सुकुम्बासी, खोला किनाराका पीडितलगायत थुप्रै नागरिकका समस्या समाधानका लागि अग्रसर रहेका नेताहरू र हाम्रो पार्टीबीच समायोजन भएको छ । अब हामी सङ्गठित रूपमा यहाँका नागरिकका समस्या समाधान गर्न सक्षम हुनेछौँ ।’

पार्टीका सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए । 

त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । उनले भावनात्मक निर्णय, भीडको दबाब वा क्षणिक स्टन्टभन्दा माथि उठेर आफूहरूले राजनीतिक निर्णय गरेको बताए ।  



  • प्रकाशित मिति : ३० पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया