२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

बुधबार काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम

जल तथा मौसम विज्ञान विभागका अनुसार गएको पुस २५ गते न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ । बुधबारको उक्त रेकर्ड काठमाडौंका लागि यो वर्षकै सबैभन्दा कम तापक्रम हो । 

विभागमा आज साँझसम्म रेकर्ड भएको तापक्रमको विवरणअनुसार पुसको दोस्रो हप्ताबाट क्रमशः घटिरहेको तापक्रम आज थप घट्न पुगेको छ । जसका कारण दिउँसो घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान बेलुका अत्यधिक चिसो बढेको छ । वातावरण प्रदूषणले थप चिसो गराएको मौसमविद्ले बताएका छन् । चन्द्रागिरि तथा काठमाडौंका बढी चिसो हुने क्षेत्रमा तुसारो परेर बिहान जमिन सेताम्मे हुने गरेको छ । 



विभागको अभिलेखअनुसार गएको पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्रीमा झरेको थियो । 

पुस १७ गते तापक्रम घटेर ४ दशमलव ६ मा आएकामा १९ गते ४ दशमलव ५ डिग्रीमा झरेको हो । यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम २५ मा २ दशमलव ४ मा झरेको छ । बुधबार भने २ दशमलव ३ मा आइपुगेको छ । 



विभागका अनुसार आज दिपायलमा २ दशमलव २, जुम्लामा माइनस ५ दशमलव ९, जोमसोममा १ दशमलव ५, दोलखाको जिरीमा माइनस १ दशमलव ६ ताप्लेजुङमा ४ दशमलव ४, सिमरामा ५ दशमलव ९ डिग्री रहेको छ । 

विभागका सूचना अधिकारी दिनकर कायस्थले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिए । जसका कारण कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

देशका तराई भूभागमा बिहानपख लाग्ने हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभावपर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ ।  



  • प्रकाशित मिति : ३० पुस, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया