जेनजी आन्दोलनपछि देश अन्योलको अवस्थामा फसिरहेका बेला सबैभन्दा धेरै खोजिएका पात्र हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ।
उनलाई त्यस बखत प्रधानमन्त्रीका रूपमा हेर्न चाहने युवाको जमात ठूलै थियो तर त्यसबेला बालेनले प्रधानमन्त्री बन्ने विषयमा चासो देखाएनन् । तर अहिले भने बालेन प्रधानमन्त्री बन्ने दौडमा उत्रिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग गरेर आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका बोलेनले माघ ५ गतेबाट संघीय राजनीतिमा सक्रिय बन्ने योजना बनाइरहेका छन् । सहज ठाउँबाट चुनाव लड्ने र प्रधानमन्त्रीको यात्रालाई सहज बनाउने पक्षमा भने बालेन देखिएका छैनन् । निकै कडा प्रतिस्पर्धीसँग चुनाव लड्ने र प्रधानमन्त्री बन्ने लक्ष्यका साथ बालेन अघि बढिरहेका छन् ।
बालेनले संघीय राजनीतिमा आउने संकेत गरेदेखि नै उनले चुनाव लड्न सक्ने चुनावी क्षेत्रको रुपमा झापा–५ चर्चामा छ । यो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओलीको राम्रो पकड रहेको क्षेत्रबाटै ओलीलाई हराएर प्रधानमन्त्री बन्ने दाउमा छन् बालेन । झापा–५ लाई आफ्नो चुनावी क्षेत्र बनाउने तयारी गरेका बालेनले माघ ४ गते काठमाडौं महानगरपालिकाबाट राजीनामा दिने र त्यसलगत्तै ६ गते झापाबाट उम्मेदवारी दर्ता गराउने योजना बनाइरहेको उनी निकट स्रोतको दाबी छ ।
त्यसअघि रास्वपाले माघ ५ गते जनकपुरमा गर्ने चुनावी घोषणा सभामा बालेन सहभागी हुने छन् । बालेन निकट र रास्वपाका कतिपय नेताहरूले बालेनलाई ओलीको निर्वाचन क्षेत्रबाट चुनाव नलड्न पनि सुझाव दिइरहेका छन् । त्यहाँबाट चुनाव लड्दा जित्नसक्ने सम्भावना पनि कम हुने भन्दै उनीहरुले काठमाडौंबाट प्रतिस्पर्धा गर्न सुझाव दिइरहेका छन् । तर बालेन भने प्रधानमन्त्री बन्न पूर्वप्रधानमन्त्रीलाई नै हराउनुपर्ने तर्क गरिरहेका छन् ।
उनले झापामा पकड बलियो बनाउन निकै सूक्ष्म र प्रविधिको व्यापक प्रयोग सहितको रणनीति अगाडि सारेको स्रोतको भनाइ छ । उनी निकट स्रोतका अनुसार झापा–५मा अहिले बालेनको समूहले भौतिक पूर्वाधार र जनशक्ति परिचालनको व्यापक तयारी थालेको छैन चुनावी तयारीका लागि घर भाडामा लिने प्रक्रियासमेत अघि बढाइसकेको छ । उनको समूहले अहिले विभिन्न ढंगबाट अध्ययन अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।