नेपाली कांग्रेसका संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफ्नो पार्टीलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलनमा उत्रिनेछ। गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौँ ।’
उनले पार्टीको आह्वानमा देशभरका कार्यकर्ता र संघसंगठनलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिइएको जानकारी पनि दिए । यता गगन थापा नेतृत्वले आफूलाई आधिकारिक दाबी गरिरहेका छन् । यो मुद्दा अहिले निर्वाचन आयोग पुगेको छ ।
पार्टी विभाजनपछिको अवस्थाबारे नेपाली कांग्रेस (देउवा पक्ष) ले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै उनले विधान विपरीत विशेष महाधिवेशनका नाममा भेला आयोजना गरी निर्वाचन आयोगसम्म पुगेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । त्यसपछि पार्टीको सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिकता र अधिकारको विषयमा आफ्नो धारणा राखेको उनले स्पष्ट गरे ।
‘कांग्रेसको विधानबारे निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छौँ,’ खड्काले भने, ‘हामीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेका छौँ । सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्य तालिका सार्वजनिक गरेका छौँ ।’
उनले नेपाली जनताले कांग्रेसप्रति विश्वास र भरोसा गरेको बेला त्यो विश्वासमा ठेस पुग्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष महाधिवेशनको भेला रोकिएको बताए । पार्टीमा एकताको भाव कायम गर्न विशेष महाधिवेशनको माग गर्ने नेताहरूसँग संवाद गरिएको भए पनि धेरै विषयमा भ्रम फैलाइएको उनको भनाइ थियो ।
खड्काले सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै भने, ‘टिकटको हस्ताक्षर मैले छाडेर कार्यवाहकको मात्रै होइन, गगनजी तपाईँले जसलाई भन्नुहुन्छ म उसैलाई दिन तयार छु भनेर सभापतिले भन्नुभएको थियो । पार्टीको विखण्डन रोक्नकै लागि यो तयारी गरिएको हो ।’
उनले गगन पक्षले सभापति र केन्द्रीय समितिलाई देखाएर झूटा कुराको प्रचार गरेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।