नेपाली कांग्रेसका उपसभापति (विशेष महाधिवेशन) विश्वप्रकाश शर्माले निर्वाचन आयोग आन्दोलनको धम्कीबाट प्रभावित नहुनेमा विश्वास व्यक्त गरेका छन्।
शुक्रबार आयोगका पदाधिकारीसँग भेट्दै शर्माले कांग्रेस केन्द्रीय कार्यालयमा केहीबेर अघि देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले पार्टीलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको प्रसङ्ग स्मरण गराए ।
उनले भने, ‘निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौँ ।’
यसअघि संस्थापन पक्षका कार्यवाहक सभापति खड्काले निर्वाचन आयोगले आफ्नो पार्टीलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भनेका थिए, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलनमा उत्रिनेछ। गाउँ गाउँ, वडा वडाबाट चार तारे झण्डा लिएर आन्दोलित हुनेछौँ ।’
उनले पार्टीको आह्वानमा देशभरका कार्यकर्ता र संघसंगठनलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिइएको जानकारी पनि दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।