नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । सो पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा आज बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यसहित सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको निर्णयपछि यो बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगको उक्त निर्णयलाई देउवा पक्षले अस्वीकार गर्दै आएको छ । आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक ठहर गरेपछि देउवा पक्ष थप रणनीति तय गर्ने तयारीमा जुटेको देखिन्छ ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयसहित थापा पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा आवश्यक कागजात पेस गरेको थियो ।
यसअघि देउवा पक्षले पनि आफूहरू नै पार्टीको वैधानिक नेतृत्व भएको जिकिर गर्दै आयोगमा छुट्टै कागजात बुझाएको थियो । तर आयोगको बहुमत निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डामाथिको अधिकार देउवा पक्षले गुमाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।