सन् १९९० मा प्रकृतिमाथि मानव केन्द्रित अधिकारको खण्डन गर्दै नयाँ सिद्धान्त प्रतिपादन भयो, नयाँ भौतिकवादको । यसले प्राकृतिक स्रोतमाथि मानवीय सर्वोच्चताको व्याख्यालाई आलोचना मात्र गरेन, स्रोतमाथिको पदानुक्रमलाई समेत खारेज गर्दै मानव र मानव भन्दा बढी सबै प्राणी तथा वस्तुको स्रोतमाथि उत्तिकै अधिकार हुन्छ भन्ने सिद्धान्त स्थापित गर्यो । त्यसैको झल्को दिने गरी मेटामोर्फोसिस शीर्षकमा कलाकार सौरब कोइरालाको एकल मूर्तिकला प्रदर्शनी तारा गाउँ म्युजियममा सुरु भएको छ ।
फोहोरबाट कला (वेस्ट टु आर्ट) बनाउने उद्देश्यले बनाइएका मूर्तिले मानिसको प्रकृतिको सम्बन्धलाई उजागर गरेको छ । तारा गाउँमा कलाकार सौरबले रेसिडेन्सिएल आर्टिस्टको रूपमा रहेर बनाइएका मूर्तिहरू सराफ फाउन्डेनसले प्रायोजन गरेको हो ।
काठमाडौं उपत्यकाका फोहोरहरु पुराना साइकल, मोटरसाइकल, त्यसका टायरहरु, गाडीका वाइपरहरु, साइकलको चेन, रबर, फालिएका डेक्ची, भाडाकुँडा, नरिवलको बोक्रा, प्लास्टिकका सामान तथा फलामका टुक्राहरु प्रयोग गरी उनले स्याल, काग, माछाहरू, जुनकिरी, गंगटो, हाँस, शंखे किरा, बकुल्ला, झ्यालेञ्जा, अरिङ्गाल, लोखर्के, फट्याङ्ग्रा, फूलहरु, च्याउहरु गरी २६ वटा मूर्तिहरू बनाएका छन् । विश्व प्रसिद्ध जर्मन उपन्यासकार फ्रान्ज काफ्काको उकृत्ट कृति छ मेटामोर्फोसिस ।
त्यसको प्रमुख पात्र गिगोर साम्सा एक रात अचानक ठूलो साङ्लोमा परिणत हुन्छन् । कलाकार सौरबले विभिन्न वस्तुहरुलाई क्याटरपिलर पुतली भएझैँ स्वरुप नै परिवर्तन गरी रोचक चरा, फट्याङ्ग्रा र जनावरहरु बनाएका छन् । फँयाकिएका, काम नलाग्ने सामानबाट बनाएका यी मूर्तिहरू झट्ट हेर्दा सजिव झैँ लाग्छन् । त्यसो त सिद्धान्तकार जेन बेनेटले भाइब्रेन्ट म्याटर : अ पोलिटिकल इकोलोजी अफ थिङ्समा ‘प्राणी जस्तै सबै वस्तु जीवन्त हुने’ बताएकी छन् । त्यसको लागि उनले उदाहरण दिँदै ‘फोहोर, बिजुली या ब्याट्रीको सेल निश्क्रिय नभई त्यसको सक्रियताले मानवीय जीवनमा समेत असर पार्ने’ उल्लेख गरेकी छन् ।
सानै देखि चित्र कोर्न मनपराउने कलाकार सौरबले मूर्तिहरू बनाउन बाल्यकालमा बिताएका प्रकृतिसँगको सामीप्यताले सहयोग गरेको बताउँछन् । उनले भने, ‘म हुर्किदा विराटनगरमा वर्खामा बकुल्ला, हाँस, भ्यागुता र माछा देखिन्थे । अहिले ती भेटिनन् । पृथ्वी मान्छेको लागि मात्र होइन भन्ने कुरामा म सानै उमेरमा सचेत थिएँ र छु । र, मेरो कलाबाट यिनै विषय देखाउन चाहन्थेँ ।’
बाल्यकालदेखि चित्र कोर्न मन पराउने कलाकार सौरबले आधिकारिक रूपमा कतै कला विषयको अध्ययन गरेका छैनन् । उनी आफ्नो पहिलो गुरु आमा यशोदालाई मान्छन् । बाल्यकाल देखि नै आमाले माटोको भगवान्को मूर्ति र चित्रहरू बनाएको देखेर आफू पनि चित्र बनाउन हौसिएको उनी सुनाउँछन् । उनको जीवनको यो पहिलो एकल प्रदर्शनीमा आमाले बनाएका माटोको भगवान् शिव, साईबाबा, पुरुष, महिला तथा हात्तीहरू र कागजबाट बनेको पशुपति र गाउँको घरसमेत प्रदर्शनीमा राखिएको छ । चित्र बनाउने हुटहुटीमा उनले पछि फ्रान्सेली चित्रकार साल बाग भेट्टाए । भन्छन्, “उनकै ड्रइङ कोर्सको अध्ययन गरेर चित्र बनाउन सिके ।’

त्यसो त कलाको साधनामा सौरब लागेको लामो भइसक्यो । उमेरले करिब चार दशक पुग्न लागेका उनी चार कक्षादेखि नियमित रूपमा चित्र बनाउन थालेको सम्झन्छन् । उनले सुरुमा अन्य कलाकार झैँ कपी गरेर चित्र कोर्थे । कापीमा चित्र बनाएर पछि डिजिटल चित्रमा होमिए । टुडी एनिमेशन मिदास हुँदै थ्रीडि एनिमेशनमा कन्सेप्ट आर्टिस्टको रूपमा इन्सेसेन्ट रेनमा उनले काम गरे । इलेक्ट्रिन इञ्जिनियरिङको पढाइ बीचमै छाडेर एनिमेशनमा रमाएका उनले इञ्जिनियरिङमा पढेको ड्रइङ कोर्सले कुनै पनि वस्तुको संरचनाको गणित बुझ्न र त्यसलाई सही आकारमा उतार्नको लागि आफूमा सीप विकास गर्न ठूलो भूमिका खेलेको उनको बुझाइ छ । पछि अङ्ग्रेजी साहित्य र अर्थशास्त्रमा स्नातक गरेका सौरब, साहित्य र दर्शनले कलाप्रति हेर्ने दृष्टिकोण अझ फराकिलो बनाएको बताउँछन् ।
इलुष्ट्रेसनको साथमा क्यानभासमा पेन्टिङ, क्यारिकेचर तथा मुरल उनको मनपर्ने विधा हो । उनले बनाएको ‘पागल वैज्ञानिक’ शीर्षकको चित्रले कार्टुन तथा क्यारिकेचर विधामा सन् २०२१ मा राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रादेशिक विशेष पुरस्कार समेत पाएको थियो ।
सन् २०१८ मा तारा गाउँ म्युजियमले फोहोरबाट कला बनाउने उदेश्यसहित सगरमाथा नेक्स्ट कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा सहभागि १० जनामध्ये दुई जना विजेता छानिएकोमा सौरब एक थिए । उनले प्रतिस्पर्धामा बनाएको डाँफे अहिले ३ हजार ७७५ मिटरमा रहेको स्याङबोचेस्थित सगरमाथा नेक्स्टकै ग्यालरीमा राखिएको छ । गत वर्ष जाडो महिनामा उनले त्यहाँ याक, चौँरी, झारल, डाँफे गरी ११ वटा सगरमाथामा फालिएका फोहोरबाट मूर्ति बनाएका थिए । तीन साताको सो अवधिमा उच्च भेगमा बसेर उनले बनाएका कतिपय मूर्तिहरू बिक्रि भइसकेका छन् । त्यसैको सफलतापछि उनले तारा गाउँ नेक्स्टमा रेसिडेन्सिएल आर्टिस्टको फेलोसिप पाएका थिए । दसैँ तिहार र जेनजी आन्दोलनको बीच ५ महिनामा कडा मिहेनतकापछि १० वटा कलाकृति बनाउन भनेपनि उनले २६ वटा मूर्ति बनाउन सफल भए ।

प्रदर्शनीमा राखिएका मुर्तिको क्युरेट तारा गाउँ नेक्स्टका डिरेक्टर रोशन मिश्रले गरे । मूर्तिहरू कुनै भुइँमा राखिएका त कुनै टेबल बनाएर राखिएका छन् । अरिङ्गालको मुर्तिसँग चाका राखिएको छ भने कमिला चाका लिएर भागेको जस्तो देखिन्छ । उनले मूर्ति त्यसरी राखिनुको कारण बारे बताउँदै भने, ‘कलाकारको दृष्टिकोणसँग मेरो कसरी प्रस्तुत गर्ने भन्ने दृष्टिकोण मिलाउनु थियो । त्यही अनुरूप राखिएको हो । दर्शकलाई अर्थ थोपर्नेभन्दा पनि आफैँ अर्थ लगाउनु भनेर यसरी राखिएको हो ।’
त्यसो त उनले अन्य कलाकारले सौरबले बनाएको जस्तो फोहोरबाट मूर्ति बनाउन कठिन हुने समेत दाबी गरे । ‘इञ्जिनियरिङ अध्ययन, जीव विज्ञानमा रुचि र एनिमेशनको अनुभवले यस्तो मूर्ति बनाउन मद्दत गर्यो जस्तो लाग्छ,’ उनी थप्छन्, ‘प्रायः कलाकारले के–के फोहोर उपलब्ध छ, त्यो अनुरूप मूर्ति बनाउँछन् । तर उनले आफूले के–के बनाउने हो, त्यही अनुसार फोहोर छानेर बनाए ।’ प्रदर्शनपछि यी मूर्तिहरू सबै सराफ फाउन्डेशनले आफैँले म्युजियममा सजाएर राख्ने योजना बनाएको छ । त्यसको लागि मुर्तिलाई लामो समयसम्म टिकाउन बाकसमा राख्ने र भारतबाट विशेष प्रकारको स्प्रे मगाएर मुर्तिमा प्रयोग गर्ने बताइएको छ । माघ १ गतेबाट सुरु भएको प्रदर्शनी १६ गतेसम्म चल्नेछ ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।