२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

असुरक्षित बन्दै बैंक र एटिएम, अपराधी किन निडर ?

गत मंगलबार (२९ पुस) साँझ सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा अवस्थित नेपाल एसबीआई बैंकको शाखामा लुटपाट भयो । पुस २९ गते साँझ ७ः३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरेको थियो । ‘लुटेराहरूले बैंकमा आएर सुरक्षा गार्ड रुद्र कार्की र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई नियन्त्रणमा लिई खुकुरी समेत प्रहार गरेर नगद लुटेका थिए । 

लुटेराहरूले गार्ड र कर्मचारीहरूको हात–खुट्टा बाँधेर र मुखमा टेप टाँसेर दुईवटा कोठामा बन्धक बनाएका थिए । त्यसपछि उनीहरूले बैंकका शाखा प्रमुखलाई प्लास्टिकको नक्कली पेस्तोल देखाई डर–त्रास देखाएर बैंकको मुख्य भल्टको ताल्चा खोल्न लगाए । बैंकको सूचना अनुसार उक्त भल्टबाट ३ करोड ७ लाख रुपैयाँ बोरा र झोलाहरूमा भरेर उनीहरू फरार भएका थिए ।



घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेर बन्धक बनाइएका कर्मचारीहरूको उद्धार गरेको थियो । घटनाको गम्भीरतालाई हेर्दै ५० जनाको प्रहरी टोली अपरेसनमा खटिएको थियो । प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । 

यस्तै, १६ पुसमा एटीएम तोडफोड गरेर पैसा चोर्न खोजेको आरोपमा प्रहरीले ललितपुरको चापागाउँ दोबाटोबाट दुई युवकलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार राति कुमारी बैंकको एटीएम तोडफोड भइरहेको भन्दै प्रहरीमा सूचना आएको थियो ।



गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा दुई युवकलाई नियन्त्रणमा लिएको थियो । यति मात्र होइन, जेनजी आन्दोलनमा पनि देशको अर्थतन्त्रको मेरुदण्डकारुपमा रहेका वित्तीय संस्थाले समेत ठूलो क्षति भोग्नुपर्यो ।

२४ गतेको आन्दोलनबाट देशभरका विभिन्न स्थानमा वित्तीय संस्थाहरूले आक्रमण, आगजनी र लुटपाट भोग्नु परेको थियो । जेनजी आन्दोलनका क्रममा बाणिज्य बैंकहरुको ६५ वटा शाखा तथा एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएको थियो । 

सोही दिन राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा तोडफोड गरी भल्टबाट नगद र सुन नै चोरी भएको थियो । बैंकको शाखाबाट सवा ५ करोड नगद र १७ हजार ९ सय ४५ ग्राम अर्थात् करिब १८ किलो सुन समेत लुटिएको थियो । उक्त रकम र सुन बैंकहरूमा रहने ‘स्ट्रङ रूम’ वा भल्टमा थियो । यसरी लुटिएको सुन कर्जाको धितोको रूपमा राखिएको थियो । त्यसैले त्यसको बीमा गरिएको हुन्छ । बैंकहरूले सुनको मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने गर्छन् ।

यी त केही प्रतिनिधी घटना मात्र हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि नियोजित रूपमा आक्रमण बढ्दै गएको छ । कुनै समय ‘सुरक्षित क्षेत्र’ मानिने बैंकिङ प्रणाली अहिले अपराधीहरूको नयाँ निशानामा पर्न थालेको देखिन्छ ।



पछिल्ला वर्षहरूमा नेपालमा बैंक तथा वित्तीय संस्थाको विस्तार तीव्र रूपमा भयो । गाउँ–गाउँमा शाखा पुगे, एटिएम सेवा सामान्य बन्यो भने डिजिटल कारोबार बढ्यो । यसले सेवा पहुँच सहज त बनायो तर सँगसँगै सुरक्षा जोखिम पनि बढाएको छ । 
बैंक लुटपाटका घटनामा पनि अपराधीहरू झन् योजनाबद्ध देखिन थालेका छन् । पहिले आकस्मिक रूपमा गरिने लुटपाटको साटो अहिले लामो योजना, सुरक्षाकर्मीको कमजोरी पहिचान र समयको सूक्ष्म छनोट गरेर आक्रमण गरिने प्रवृत्ति बढेको छ । कतिपय घटनामा बैंक खुला रहने समयमै प्रवेश गरी कर्मचारी र सेवाग्राहीलाई आतंकित बनाउने शैली अपनाइएको छ । 

यी घटनाले वित्तीय संस्थाको सुरक्षा व्यवस्था कति पर्याप्त छ भन्ने प्रश्न उठाएको छ । अधिकांश बैंकमा सीसीटीभी, अलार्म प्रणाली र सुरक्षागार्ड त छन्, तर ती सबै प्रभावकारी छैनन् । यस्ता घटनाले केवल वित्तीय संस्थाको सुरक्षामाथि मात्र प्रश्न उठाएको छैन । समाजको बदलिँदो मनोविज्ञान, आर्थिक दबाब र राज्यको नियमन क्षमतामाथि पनि गम्भीर बहस जन्माएको छ । बेरोजगारी, आर्थिक दबाब, ऋणको बोझ र छिटो पैसा कमाउने चाहनाले मानिसलाई अपराधतर्फ धकेलेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए । 

‘पछिल्लो समय दुख गरेर पैसा कमाउनेभन्दा पनि लुटपाटतर्फ मानिसहरूको मनोविज्ञान मोडिएको देखिन्छ,’ उनी भन्छन्, ‘सामाजिक सञ्जालमा देखाइने विलासी जीवनशैली, छोटो समयमै धनी बनेका व्यक्तिहरूको चर्चा र अपराधपछि सजिलै उम्किएको खबरले गलत सन्देश प्रवाह गरेको छ । जब समाजमा अपराधबाट लाभ लिन सकिन्छ भन्ने विश्वास बढ्छ, तब बैंकजस्ता उच्च नगद कारोबार हुने स्थान अपराधीको पहिलो निशाना बन्न पुग्छन् ।’

बैंक तथा एटिएम लुटपाटका घटना बढ्नु पछाडि सामाजिक र आर्थिक कारणहरू पनि गहिरोसँग गाँसिएका छन् । बेरोजगारी, महँगी र आम्दानी–खर्चबीचको असन्तुलनले ठूलो संख्याका युवालाई आर्थिक तनावमा पारेको छ । नियमित कामबाट जीवन धान्न गाह्रो हुँदै जाँदा केही व्यक्तिमा ‘छिटो पैसा’ कमाउने लोभ बढ्दै गएको देखिन्छ । मेहनत गरेर कमाउनेभन्दा जोखिम मोलेर लुटपाटतर्फ लाग्दा छोटो समयमै ठूलो रकम हात पर्छ भन्ने गलत सोचतर्फ आकर्षित हुने गरेका छन् । 

प्रविधिको विकासले बैंकिङ सेवा सहज बनाए पनि सुरक्षा पक्षमा भने अझै चुनौतीहरू छन् । धेरै एटिएम बूथ सुनसान ठाउँमा छन्, पर्याप्त सीसीटीभी, अलार्म प्रणाली वा तत्काल प्रहरी समन्वयको व्यवस्था छैन । कतिपय बैंकले लागत घटाउने नाममा सुरक्षामा पर्याप्त लगानी नगर्दा अपराधीले कमजोरी सजिलै पहिचान गर्ने अवसर पाएका छन् । यस्तै, कानुनी कार्यान्वयनको कमजोरी पनि एउटा महत्त्वपूर्ण कारण हो । लुटपाटका घटनामा संलग्न धेरै अभियुक्त समयमै पक्राउ नपर्नु, पक्राउ परे पनि अनुसन्धान ढिलो हुनु वा सजाय प्रभावकारी नहुनुले अपराधीको हौसला बढाएको छ । अपराध र सजायबीचको सम्बन्ध कमजोर देखिँदा अरूलाई पनि त्यही बाटो अपनाउन प्रेरणा मिल्छ ।

यस्ता घटनाले बैंकिङ प्रणालीप्रति आम नागरिकको भरोसामा असर पार्ने खतरा बढाएको छ । बैंकमा पैसा राख्दा सुरक्षित हुन्छ भन्ने विश्वास कमजोर भएमा मानिसहरू नगद राख्नतर्फ अग्रसर हुने पूर्वगभर्नर क्षेत्रीले बताए । 

‘बैंक तथा एटिएम लुटपाटका घटनाले बैंकिङ प्रणालीप्रति आम नागरिकको भरोसामा असर पार्छ,’ उनी भन्छन्, ‘जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेछ । डिजिटल कारोबार र औपचारिक वित्तीय प्रणालीको विस्तार गर्ने सरकारी नीतिलाई पनि यस्ता घटनाले धक्का  पुग्ने छ ।’
यदि बैंक तथा वीत्तिय क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न सकिएन भने वित्तीय समावेशीकरणको लक्ष्य नै प्रभावित हुनेछ । सुरक्षाका दृष्टिले हेर्दा बैंक लुटपाट र एटिएम फोड्ने घटना केवल वित्तीय संस्थाको समस्या मात्र होइन, यो समग्र आन्तरिक सुरक्षासँग सम्बन्धित विषय पनि हो । घटना भएपछि मात्र अनुसन्धान गर्ने प्रवृत्तिभन्दा पनि सम्भावित जोखिम पहिचान गरी पूर्वतयारी गर्ने रणनीति आवश्यक छ । 

हुन त पछिल्लो समय बैंक तथा एटिएम लुटपाटको घटनालाई लिएर अर्थमन्त्री रामेश्वर खनालको अग्रसरतामा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका प्रतिनिधिले बैंकरहरूसँग छलफल गरेका छन् । गत सोमबार अर्थमन्त्री खनालसहितका उच्च सरकारी अधिकारीले नेपाल बैंकर्स संघको कार्यकारी समितिसँग बैंक कर्मचारीहरूले निर्भयपूर्वक काम गर्ने वातावरण निर्माण गर्ने सम्बन्धमा छलफल गरेका हुन् ।

बैंकरहरूका अनुसार पछिल्ला केही दिनयता कर्मचारीलाई हतोत्साहित बनाउन धम्की दिने र बैंकका शाखा कार्यालयमै पुगेर चेतावनी दिने जस्ता गतिविधिले कर्मचारीहरू त्रसित बनेका छन् । छलफलका क्रममा अर्थ र गृह मन्त्रालयका तर्फबाट कर्मचारीको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

पछिल्लो समय लुटपाटको गर्ने मात्र नभई दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ का तर्फबाट खुला रूपमै बैंकहरूलाई ‘सबक सिकाउने’ चेतावनी दिइँदै आएको छ । यसरी संगठित रूपमा आक्रमण बढेपछि अर्थमन्त्री खनालले गृह मन्त्रालयका प्रतिनिधिसमेत राखेर छलफल अघि बढाएका हुन् । अब उच्च जोखिम भएका स्थानमा एटिएम राख्दा थप सुरक्षा व्यवस्था, बलियो संरचना, स्मार्ट अलार्म र निगरानी प्रणालीको विकास गर्नुपर्ने बताउँछन्, पूर्वगभर्नर क्षेत्री ।

‘सबैभन्दा पहिले बैंक तथा एटिएमको भौतिक र प्रविधिगत सुरक्षा गर्नुपर्छ,’ उनी भन्छन्, ‘आधुनिक सीसीटीभी क्यामेरा, सेन्सरयुक्त अलार्म, एटिएम फोड्ने प्रयास हुनासाथ बैंक र प्रहरीलाई एकैपटक सूचना जाने प्रणाली जडान गर्नुपर्छ ।’

बैंक तथा एटिएम लुटपाटका बढ्दो घटनाले नेपालको बैंकिङ प्रणाली केवल आर्थिक संस्थाका रूपमा नभई आन्तरिक सुरक्षाको संवेदनशील क्षेत्रका रूपमा पुनः परिभाषित गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । अब घटना भएपछि मात्र प्रहरी परिचालन गर्ने नभई सम्भावित जोखिम पहिचान गरी प्रविधि, मानव स्रोत र कानुनी संयन्त्रलाई एउटै सुरक्षा ढाँचामा जोड्न जरुरी छ । अन्यथा ‘सुरक्षित’ मानिँदै आएको बैंकिङ प्रणालीमाथिको भरोसा कमजोर बन्दै जानेछ, जसको असर अन्ततः समग्र अर्थतन्त्र र सामाजिक स्थायित्वमै पर्नेछ । बैंकिङ सेवा सहज मात्र होइन, सुरक्षित पनि छ भन्ने अनुभूति दिलाउन सकिएन भने विकासका सबै प्रयास अधुरै रहनेछन् ।  

  • प्रकाशित मिति : ४ माघ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया