२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

घरेलु मैदानमै चुक्यो नेपाल, कमब्याकको सम्भावना कति ?

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली यतिबेला आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर छनोटमा व्यस्त छ । नेपाल पहिलो पटक विश्वकप ग्लोबल क्वालिफायर छनोट खेलिरहेको हो । टी–२० विश्वकप छनोट कीर्तिपुरस्थित, त्रिवि क्रिकेट स्टेडियम र मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेल भए । उद्घाटन खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको घरेलु टोली नेपाल ८ विकेटले पराजित भयो । योसँगै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा थाइल्याण्डसँग नेपाल लगातार आठौँ पटक पराजित भएको छ ।



प्रतियोगितामा खराब सुरुवात गरेको नेपाललाई अझै पनि पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाउने मौका छ । तर, त्यसका लागि नेपालले सानदार प्रदर्शन गर्नुपर्नेछ । नेपालले अब समूह चरणमा तीन खेल खेल्न बाँकी छ, जहाँ उसले घरेलु खेलमैदानको फाइदा उठाउँदै प्रतियोगितामा सानदार कमब्याक गर्न सक्छ ।



यसैबिच आज पराजित यात्राबाट प्रतियोगिताको सुरुवात गरेको नेपाल अब कसरी टी–२० विश्वकपमा स्थान बनाउन सक्छ ? भन्नेबारे चर्चा गरेका छौँ ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर छनोटमा नेपालले खराब सुरुवात गरेपनि विश्वकपमा स्थान बनाउने अझै प्रशस्त मौका छन् । विश्वकपमा स्थान बनाउन नेपालले सुरुमा समूह चरण पार गरी सुपर सिक्समा स्थान बनाउनुपर्ने हुन्छ । पाँच राष्ट्र सहभागी समूहमा शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा प्रवेश गर्नेछ ।

शीर्ष तीनमा स्थान बनाउन नेपालले समूह चरणका बाँकी तीन खेलमध्ये सम्भव भए तीन वटै नत्र कम्तिमा पनि दुई खेलमा विजयी हासिल गर्नु पर्नेछ, तर फराकिलो रन अन्तरले । थाइल्याण्डबाहेक समूहमा रहेका बाँकी तीन टोली पनि टी–२० वरियतामा नेपालभन्दा माथि छन् । तर, पहिलो पटक  विश्वकपमा स्थान बनाउने हो भने नेपालले समूह चरणका बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । 



समूह चरणका तीन वटै खेल जिते नेपाल सिधै सुपर सिक्समा प्रवेश गर्नेछ । त्यस्तै, दुई खेलमा पनि जित हासिल गरेको खण्डमा नेपाल अरु टोलीभन्दा राम्रो रन रेट भए सुपर सिक्समा स्थान बनाउनेछ । दुई खेलमा पनि जित हासिल गर्न नसके नेपालको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ ।

यदि नेपालले समूह चरण पारी गरी सुपर सिक्समा स्थान बनाएको खण्डमा त्यहाँबाट पनि उसले शीर्ष चारमा स्थान बनाउनु पर्नेछ । त्यसपछि नेपाल सिधै टी–२० विश्वकपमा स्थान बनाउनेछ । 

प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जहाँबाट दुवै समूहका शीर्ष तीन–तीन टोली सुपर सिक्समा स्थान बनाउँदै एक अर्काबीच प्रतिस्पर्धा गर्नेछन् ।

त्यहाँबाट पनि शीर्ष चारमा स्थान बनाउने टोली विश्वकपमा छनोट हुनेछ । आसन्न संस्करणको टी–२० विश्वकप जुन १२ देखि इंग्ल्याण्डमा आयोजना हुँदैछ । विश्वकप छनोटमा नेपालले दोस्रो खेल अब २२ जनवरीमा नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ । थाइल्याण्डसँगको हारका कारण प्रतियोगितामा नेपालमाथि अब थप दबाब बढेको छ ।

 

  • प्रकाशित मिति : ५ माघ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया