२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

रौतहट-१ मा चुनावी सरगर्मी : नेपाल र गुप्ताबीच दोहोरिँदै पुरानै प्रतिस्पर्धा

आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो ।



सो निर्वाचनमा माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए । नेपालले ६ हजार ६ सय मतान्तरले चुनाव जितेका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले २०५६ र २०७० को निर्वाचनमा रौतहटबाट विजयी भएका थिए । २०७४ मा काठमाडौं क्षेत्र नम्बर २ मा र २०७९ मा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।



तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पूर्वप्रधानमन्त्री नेपाल पराजित भएका थिए । रौतहट नेपालको गृह जिल्ला हो ।

आफ्नो गढ जोगाउने दाउमा रहेका नेपाल र अघिल्लो हारको बदला लिने तयारीमा रहेका गुप्ताबीचको यो भिडन्तलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा दुवै पक्षले आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । 



  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया