आगामी २१ फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब डेढ महिनाभन्दा कम दिन मात्रै बाँकी छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक गतिविधि तीव्र बनेका छन् । निर्वाचन आयोग तयारीमा जुटेको छ भने दलहरू उम्मेदवार छनोट गरेर चुनावी सभामा व्यस्त भइसकेका छन् । दलहरूबीचको प्रतिस्पर्धा, सार्वजनिक बहस र शक्ति परीक्षणले चुनावी माहौल झन् तातेको छ । यतिबेला एउटा रोचक प्रश्न पनि उठ्छ ? नेपालमा संसदीय निर्वाचन प्रायः कुन महिनामा हुँदै आएका छन् ? आउनुहोस्, आज यही पृष्ठभूमिमा रहेर विगतदेखिको निर्वाचन इतिहासलाई एक पटक फर्केर हेरौँ ।
नेपालमा संसदीय निर्वाचनको इतिहास छोटो भए पनि राजनीतिक परिवर्तनसँग गहिरो रूपमा जोडिएको छ । पहिलो निर्वाचन २०१५ सालमा भएको थियो । अहिले २०८२ सम्मसम्म आई पुग्दाको करिब ६७ वर्षमा आठ वटा निर्वाचन भएका छन् । आसन्न फागुनमा हुने निर्वाचन नवौँ निर्वाचन हो । यो बीचको ३० वर्ष पञ्चायती, दलविहीन व्यवस्था थियो भने २०५६ सालमा भएको संसदीय निर्वाचनपछि माओवादी आन्दोलन र व्यवस्था परिवर्तनले गर्दा २०६४ मा मात्र निर्वाचन भएको थियो । यो बीचमा नेपाली जनताले अनेकौँ संकटको सामना गर्नुपर्यो ।
२०६४ र २०७० को निर्वाचन पछिको संसद्को अभिभारा भने संविधान बनाउनु थियो । तर यसले व्यवस्थापिका संसदको भूमिकामा पनि काम गथ्र्यो । यसको लागि २०६३ मा बनेको अन्तरिम संविधानले विशेष व्यवस्था गरेको थियो । २०७२ को असोजमा संविधान बनेपछि भने तीन तहको सरकारको व्यवस्था अनुसार २०७४ मा पहिलो, २०७९ मंसिरमा दोस्रो र २०८२ फागुनमा तेस्रो निर्वाचन हुन लागेको हो ।
प्रजातन्त्र स्थापना भएपछि नेपालकै इतिहासमा पहिलो पटकको आम निर्वाचन ७ फागुन २०१५ मा प्रारम्भ भई विभिन्न चरणमा ४५ दिन लगाएर सोही वर्षको चैत २८ गते सम्पन्न भएको थियो । यसको नतिजा भने २८ वैशाख २०१६ मा आएको थियो ।
२०१७ मा राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था लागू गरेपछि ३० वर्षसम्म दलहरू प्रतिबन्धमा परे । २०४६ को पहिलो जनआन्दोलनले प्रजातन्त्रलाई पुनर्बहाली गरेपछि २९ वैशाख २०४८ मा नेपालको इतिहासमा दोस्रो पटक आम निर्वाचन भएको थियो । यस्तै, पाँच वर्षे कार्यकालको संसद् २०५१ मा तत्कालीन कांग्रेस सरकारले विघटन गरेपछि २९ कात्तिक २०५१ मा भएको मध्यावधि निर्वाचन भएको थियो ।
यस्तै, २० वैशाख २०५६ र ३ जेठमा दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । २०५६ पछि देशमा राजनीतिक परिवर्तन भयो । तत्कालीन राजतन्त्रविरुद्ध २०६२/०६३ को जनआन्दोलनले व्यवस्था नै परिवर्तन गरायो । यसपछि बनेको अन्तरिम संविधानले गरेको परिकल्पना अनुसार २८ चैत २०६४ मा पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भएको थियो ।
पहिलो संविधान सभाले संविधान बनाउन नसकेपछि फेरी मंसिरमा दोस्रो संविधान सभाको निर्वाचन भएको थियो । यस्तै २०७२ असोजमा संविधान बनेपछि १० र २१ मंसिर २०७४ मा दुई चरणमा निर्वाचन भएको थियो । त्यसपछि ४ मंसिर २०७९ मा प्रतिनिधि सभा निर्वाचन भएको थियो । यसपछि नियमित कार्य तालिका अनुसार प्रतिनिधि सभा निर्वाचन २०८४ मा हुनुपर्ने थियो । तर गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन पछि देशको राजनीतिक समीकरण एकाएक बदलियो । आन्दोलनको दबाबमा सत्ता परिवर्तन भएपछि संसद् विघटन भयो र निर्धारित समयअघि नै निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना भयो ।
यही राजनीतिक उथलपुथलको परिणामस्वरूप २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन हुँदै छ । हालसम्मको निर्वाचनलाई हेर्ने हो भने वैशाख, जेठ, कात्तिक, मंसिर, फागुन र चैत महिनामा मात्र निर्वाचन भएका छन् भने फागुन र मंसिर महिनामा सबैभन्दा बढी निर्वाचन भएको देखिन्छ ।
यी ६ महिनामा मात्र बढी निर्वाचन हुनेको एउटा मुख्य कारण नेपालको जलवायु र मौसम पनि हो । वर्षा र हिमपातको मौसममा निर्वाचन आयोजना गर्नु कठिन हुन्छ । असार, साउन, भदौमा सामान्यतः भारी वर्षा हुन्छ । जसले मतदान केन्द्रसम्म मतदाता पुग्न कठिन बनाउँछ । त्यसैले मंसिर र फागुन जस्ता सुख्खा र अनुकूल मौसमका महिना मतदानका लागि उपयुक्त मानिन्छन् । चुनावी प्रक्रिया, मतदाता दर्ता, मतदान तथा मतगणना सहज र सुरक्षित तरिकाले सम्पन्न गर्न यी महिना प्राथमिकता दिइएको हुन्छ ।

दोस्रो कारण शैक्षिक र प्रशासनिक तालिका पनि हो । निर्वाचनमा कर्मचारी, शिक्षक, प्रशासनिक कर्मचारीहरू मतदान प्रक्रिया सञ्चालनमा संलग्न हुन्छन् । विद्यालयको परीक्षा वा कृषि÷उत्पादन मौसमसँग मेल खायो भने प्रशासनिक समस्या आउन सक्छ । यही कारणले विद्यार्थी, शिक्षक र सरकारी कर्मचारी सजिलै मतदान केन्द्रमा पुग्ने, चुनावी काम सहज हुने र प्रशासनिक स्रोत व्यवस्थापन सरल हुने महिना चयन गरिएको देखिन्छ ।
यस्तै, सामाजिक र सांस्कृतिक अनुकूलता हो । नेपालमा विभिन्न चाडपर्व, कृषि महिना र सामाजिक कार्यक्रमले जनजीवन प्रभावित हुन्छ । मतदान गर्दा जनताको सहभागिता उच्च हुनु जरुरी हुन्छ । जाडोको अन्त्य (फागुन), गर्मीको प्रारम्भ (वैशाख), शीतकाल (मंसिर), र वर्षाको बाहिरका समय मतदानको लागि अनुकूल मानिएका छन् । यसले निर्वाचनमा उच्च सहभागिता सुनिश्चित गर्छ ।
नेपालमा निर्वाचन प्राय फागुन, मंसिर, वैशाख, जेठ, कात्तिक र चैतमा मात्र भएको छ । यसको मुख्य कारण मौसमको अनुकूलता, प्रशासनिक सुविधा, सामाजिक सहभागिता र राजनीतिक तालिका हो । वर्षा, जाडो वा कृषि सिजनमा निर्वाचन गर्न कठिन हुने भएकाले अन्य महिनामा निर्वाचन हुने अवस्था कम छ । यसरी निर्वाचन आयोजना गर्न सजिलो, सुरक्षित र जनसहभागिता उच्च हुने महिना प्राथमिकता दिइएको देखिन्छ ।
तर, नेपालका संसदीय निर्वाचनहरू केवल मितिको निरन्तरता मात्र होइनन्, अब देशको राजनीतिक मोड, व्यवस्थागत परिवर्तन र सामाजिक यथार्थसँग गहिरो रूपमा गाँसिँनै पर्छ ।अब २१ फागुनमा हुन लागेको निर्वाचन पनि यही ऐतिहासिक क्रमको अर्को महत्त्वपूर्ण कडीका रूपमा रहनेछ, जसको प्रभावले आगामी राजनीतिक दिशा र लोकतन्त्रको विश्वसनीयतालाई समेत थप मजबुत बनाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।