२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

जसको मध्य राति टिकट खोसियो...

निवर्तमान सांसद रामहरि खतिवडा सोमबार साँझ सम्म काठमाडौंमै थिए । उनका नाममा  ओखलढुङ्गाबाट उम्मेदवारी दिने निर्णय नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले सोमबार नै निर्णय  गरेको थियो । उनलाई तयारी हालतमा बस्नु भनेर समेत निर्देशन आएको थियो । 

खतिवडा मंगलबार बिहानै उम्मेदवारी दर्ता गर्न ओखलढुङ्गा जाने तयारी गर्दै राति सुते । तर, बिहानै उनका नामको टिकट कुमार लुइँटेलको नाममा सरेको खबर आयो। त्यसपछि उनी पनि आश्चर्य चकित बने। 



नेपाली कांग्रेसको हालै विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित हुँदा उनी विपक्षमा थिए। नेताहरूबीच भएको सहमति अनुसार उनले ओखलढुङ्गाबाट टिकट पाएका थिए । तर, सोमबार राति नै उनको टिकट नेताहरुबिचको सहमतिमा सरेको थियो। 

उनी पार्टीले टिकट नदिने भएपछि हाल ओखलढुङ्गा तर्फ गएका छैनन् । सुतेकै समयमा राति नै टिकट खोसिएपछि उनको चित्त दुखाई छ । ‘टिकटमा राजनीति भयो कि के भयो ? तपाई आफैँ छुट्याउनुस्,’ फरकधारसँग संवादमा उनले भने । 



सुनसरी-३ मा एमालेले सोमबार साँझसम्म अबुल हुसेन अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।  उम्मेदवारी मनोनयनका लागि झापा पुगेर एक होटलमा बसेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सुनसरीबाट-४  गाडि-कार्यकर्ताहरू दमक पुगे ।

उनीहरूले त्यहाँ जगदीश कुसियतको माग गरेनन् । तर, अबुलको उम्मेदवारी बदरको माग गरे। यो माग नै कुसियतको  स्वतः उम्मेदवारी थियो । 

ओलीले सोमबार साँझ दश बजे उनीहरूलाई भेटेर उम्मेदवार परिवर्तन गर्ने वचन दिए। त्यसपछि सुनसरीको सो क्षेत्रको टिकट परिवर्तन भयो। र, जगदीश कुसियत एमालेको तर्फबाट उम्मेदवार बने । 

एमालेले धादिङ क्षेत्र नम्बर २ को टिकट सोमबार राति दोस्रो पटक हेरफेर भएको थियो । केन्द्रीय सचिवालय बैठकले धनबहादुर घलेको निर्णय गरेकोमा सोमबार चन्द्र रिजाललाई टिकट दिने निर्णय भएको थियो । तर पार्टी कार्यकर्ताले जिल्ला कार्यालयमा तालाबन्दी गरेर विरोध गरेपछि घलेकै नाममा टिकट पठाएका थिए । 



मंगलबार बिहान सम्म नेकपाले ओखलढुङ्गामा रामकुमार कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, दिउँसो अचानक उनको पनि टिकट  खोसियो । कार्कीको टिकट खोसिनुमा कारक बने एमालेका नेता अम्बिरबाबु गुरुङ । नेकपाले उनलाई टिकट दिने भएपछि  अम्बिरबाबु गुरुङले एमाले  छाडेका छन् । 

टिकट वितरणमा असन्तुष्ट देखिएका उनी एमाले त्यागेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्न लागेका हुन् । उनलाई मंगलबार दिउसो मात्र नेकपाले टिकट दिने निष्कर्षमा पुगेको स्रोतले बतायो। 

पाल्पा-२ मा एमालेका विष्णु पौडेलका लागि छुट्याइएको थियो। तर रुपन्देही छोड्ने उनको नियतमा कार्यकर्ताले प्रश्न उठाएपछि  उनी पाल्पा छाडेर फर्किएका थिए।  सो ठाउँमा रामबहादुर राउतले टिकट  पाएका थिए । तर उनको टिकट पनि लामो समय टिकेन । सोमबार राति नै उनको टिकट खोसियो र ठाकुर गैरेले उम्मेदवारी  पाए ।

एमाले बझाङमा पनि यस्तै घटना दोहोरिएको छ । सुरुमा अफिलाल ओखेडालाई टिकट ‘फिक्स’ गरे पनि अन्ततः ऐन महरलाई टिकट दिइयो । 
 

  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया