सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८२ सम्पन्न भएको छ ।
माघ ०४ गतेदेखि ०७ गतेसम्म जङ्गी अड्डा परिसरमा सञ्चालन भएको प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल ३० वटा स्टलहरू राखिएका थिए ।
आम जनसमुदायहरूका साथै विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको चार दिने उक्त प्रदर्शनीको मिति २०८२ माघ ०४ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले समुद्घाटन गरेका थिए । प्रदर्शनीको अन्तिम दिन बुधबार श्री जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रदर्शनीमा सहभागी युनिटहरूलाई धन्यवाद सहित प्रशंसा पत्र प्रदान गरे ।
प्रदर्शनीबाट अवलोकनकर्ताहरूलाई नेपाली सेनाको विकास क्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीहरूबारे जानकारी प्राप्त भएको विश्वास लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।