नागरिक सरकारका चार मन्त्रीलाई राजनीतिक मोहले लठ्याएको छ । उनीहरू अब सिंहदरबार छाड्न चाहँदैनन्, त्यसैले चुनावी मैदानमा उत्रिएका छन् ।
जेनजी आन्दोलनको बलमा स्थापित भई देशलाई निर्वाचनतर्फ लैजाने जिम्मेवारी बोकेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका हुन् ।
आन्दोलनपछिको संक्रमणकालीन अवस्थालाई स्थिरता दिन, निष्पक्ष निर्वाचन सुनिश्चित गर्न र जनतामा भरोसा जगाउन गठन भएको सरकारका मन्त्री नै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पद त्यागेर राजनीतिक मैदानमा उत्रिँदा उनीहरूले चलाएको सरकारको नैतिक धरातलमाथि नै प्रश्न उठेको छ ।
अन्तरिम सरकारको मूल उद्देश्य सत्ता नभई, सेवा र व्यवस्थापन हुनुपर्नेमा मन्त्रीहरूकै प्राथमिकता चुनावी प्रतिस्पर्धा बन्न पुगेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीहरूको त्यो कदम कानुनी रूपमा गलत नभएपनि नैतिक र राजनीतिक दृष्टिमाथि भने धेरैले प्रश्न उठाइरहेका हुन् ।
कुनै समय ‘लोडसेडिङ अन्त्य गर्ने नायक’का रूपमा जनताको भगवानझैँ पूजिएका कुलमान घिसिङलाई आज केहीले अवसरवादीको आरोप लगाएका छन् । कुलमान राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति नजुटेपछि आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टीमा फर्किएका हुन ।
युवा तथा खेलकुदमन्त्री गुप्ता जेनजी आन्दोलनका अगुवा तथा सामाजिक अभियन्ता हुन् । उनीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै पूर्वसञ्चारमन्त्री खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए । उनले मंगलबार ललितपुर निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
भष्ट्राचारको अन्त्य र सुशासन कायम गर्ने घोषणासहित बनेको अन्तरिम सरकारका मन्त्रीहरू धमाधम राजीनामा दिएर पार्टी प्रवेश गरेका हुन् । परिवर्तनका नारा बोकेर सत्तामा पुगेकाहरू नै सत्ता र शक्तिमा मोहित हुनथालेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।